जम्बो टोलीसहित प्रम ओली लागे चीनतिर | भ्रमण दलमा सहभागी निजीक्षेत्रका प्रतिनिधि आफ्नै खर्चमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली केही बेरअघि ११९ सदस्यीय जम्बो टोलीका साथ छिमेकी मुलुक चीनको ६ दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । चीनका प्रधानमन्त्रीको निमन्त्रणामा प्रम ओली आज बिहान ८ः३० बजे हिमालयन एयरलाइन्सको विमान चार्टर गरी त्यसतर्फ प्रस्थान गरेका हुन् । भ्रमण टोलीमा निजीक्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू पनि आफ्नै खर्चमा त्यसतर्फ प्रस्थान गरेका छन् ।
निजी क्षेत्रका विभिन्न संघसंस्थामध्ये उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा सहित ११ जना भ्रमण टोलीमा छन् । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मासहित ५ जना र चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठसहित ५ जना भ्रमण दलमा रहेका छन । निजीक्षेत्रका प्रतिनिधि निजी खर्चमै गएका हुन् ।
भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलगायत प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली र नेकपाका नेता तथा विदेश मामिला विज्ञ डा. राजन भट्टराई पनि टोलीमा छन् । त्यस्तै, संघीय संसद्का सांसदहरुमध्ये नेकपाका जनार्दन शर्मा, प्रेम आले, जयपुरी घर्ती, विशाल भट्टराई र नैनकला ओझा पनि भ्रमण दलमा रहेका छन् ।
भ्रमण दलमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र मुस्ताङ जिल्ला समन्वय समितिकी प्रमुख छिरिङल्हमो गुरुङ पनि छन् । प्रधानमन्त्रीका स्वकीय सचिव राजेश वज्राचार्य र निजी चिकित्सक दिव्यासिंह शाह पनि सरकारी टोलीमा छन् ।
मुख्य सचिव लोकदर्शन रेगमी, अर्थ सचिव राजन खनाल, परराष्ट्र सचिव शंकरदास वैरागी र वाणिज्य सचिव चन्द्र घिमिरे भ्रमण दलमा छन् । त्यस्तै, चीनका लागि नेपाली राजदूत लिलामणी पौडेलसहित दूतावासका अधिकारी थपिनेछन् । उच्च माध्यमिक विद्यालय एशोसिएशन हिसानका अध्यक्ष रमेश सिलवाल र महासचिव लोकबहादुर भण्डारी पनि प्रधानमन्त्रीको भ्रमण दलमा छन् ।
यसबाहेक भ्रमण दलमा हिमालयन एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा पनि भ्रमण दलमा रहेका छन् ।
चीन भ्रमणका क्रममा प्रम ओलीले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुका साथै ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयमा दुई देशबीच सम्झौता पनि हुने परराष्ट्र मन्त्रालयले बताएको छ । प्रधानमन्त्री ओलीले बुधवार अपराह्न चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।