रसुवागढी नाकालाई लक्षित गरी सडकको स्तरोन्नति कार्य शुरू |
काठमाडौं । २०७२ वैशाखबाट ट्रयाक खोल्ने काम शुरु गरेको नेपाली सेनाले नेपाल र चीनको सीमा नाका रसुवागढीलाई लक्षित गरी सडकको स्तरोन्नति कार्य अघि बढाएको छ । सेनाले मैलुङदेखि स्याफ्रुबेंसीसम्मको सडक निर्माण गरिसकेको छ । सेनाले उक्त सडकखण्डमा ९ देखि ११ मिटरसम्म सडक विस्तार गरेको छ ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाका सव इञ्जिनीयर तुलाकान्त चौधरीका अनुसार गल्छी–रसुवागढीको योजनाअन्तर्गत हाल ४६ किमीको मात्र काम भइरहेको छ । यसका लागि ३ अर्ब ६३ करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता भई काम शुरु भएको हो । यो योजना २ वर्षमा सक्ने गरी सठेक्का सम्झौता भएको हो ।
उक्त योजनाअन्तर्गत बजार क्षेत्रमा नालासहित चार लेन र अन्य बस्ती नभएका ठाउँमा दुई लेनको सडक निर्माण कार्य भइरहेको छ । यो सडक खण्डका कतिपय ठाउँमा मुआब्जालगायतका समस्याका कारण निर्माण कार्य प्रभावित भएकाले हालसम्म १६ प्रतिशत मात्र काम भएको जानकारी दिए ।
गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेँशी–रसुवागढी जोडिने यो सडक समग्र नेपालकै समृद्धि र विकासका लागि महत्वपूर्ण मानिएको छ ।