निगमका दुईवटा नयाँ एयसबस काठमाडौं आउँदै | २५० सिट क्षमताकोे एयरबस असार ११ गते र अर्को १४ गते आइपुग्ने
काठमाडौं । नयाँ विमान भित्र्याउने तयारीमा रहेको नेपाल वायु सेवा निगमले असार ११ गते नै नयाँ विमान काठमाडौं आइपुग्ने बताएको भएको छ । निगमले ल्याउन लागेका दुईवटा एयरबसमध्ये २५० सिट क्षमताकोे एयरबस काठमाडौं आइपुग्न लागेको हो ।
अर्को एयरबस असार १४ गते आइपुग्ने जानकारी निगमले दिएको छ । यसका साथै अर्को एयरशस एक महिनापछि ल्याउने तयारी भएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले बताए । उनले भने, ‘विमान आएको ३ हप्ता आन्तरिक काममा व्यस्त हुन्छौं, ४ हप्तापछि विमानले उडान गर्न शुरू गर्नेछन् ।’
काठमाडौं आउँदै गरेका ती दुई विमान सञ्चालनका लागि १२ जना को–पाइलट र दुई जना सिनियर पाइलट चाहिन्छ । त्यसका लागि छ जना को–पाइलटको तयारी अवस्थामा रहेको र बाँकी चाँडै नै पूर्ति गरिने निगमले बताएको छ । नयाँ जहाजका लागि क्याप्टेन पाइलटको व्यवस्था भने एएआर कर्पोरेशनले नै गर्ने निगमले बताएको छ ।
निगमले अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेशनलाई एयरबस ३३० र २०० सिरिजको विमान ल्याउने जिम्मा दिएको थियो । नयाँ विमानले जापानको ओसाका, कोरियाको सिउल, र साउदी अरबको रियादमा उडान भर्नेछ ।
निगमले थप्न लागेको अर्को नयाँ न्यारो बडी ३२० अङ्ग्रेजी वर्ष २०१९ सम्ममा आइपुग्नेछ । १५६ सिट क्षमताको जहाज आएपछि ठूला एयरबसलाई लामो दुरीको उडान भर्ने जिम्मा दिइनेछ । निगमसँग राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान भर्ने ७४ जना पाइलट रहेका छन् । २९ जनाले आन्तरिक उडान भरिरहेका छन् भने ४५ जना अन्तरराष्ट्रिय उडान भर्ने पाइलट रहेका छन् ।
हाल छवटा साना र तीनवटा ठूला विमान रहेको निगमसँग साना विमानले देशभित्र विभिन्न २२ स्थानमा उडान गरिरहेका छन् । निगमले आफूसँग भएका जहाजहरु ४० वर्षभन्दा पुराना भएको र आवश्यक संख्यामा पाइलट नहुनाले उडान संख्या बढाउन सकेको छैन ।