१ वर्षसम्म तलव नपाउने पाँच कर्मचारीले दिए निवेदन |
भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाका पाँच कर्मचारीले विगत १ वर्षदेखि तलब नपाएको खुलासा भएको छ । ती कर्मचारी विभिन्न वडामा करारमा कार्यरत रहेको र उनीहरुले २०७४ साल साउनदेखि तलब नपाएको खुलासा भएको हो । करिब १ वर्षदेखि तलब नपाएपछि उनीहरुले तलब उपलब्ध गराई पाऊँ भनी जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, विभिन्न राजनीतिक दललगायत सरोकारवाला निकायमा निवेदन दर्ता गरेका छन् ।
तलब नपाउनेहरुमा षडानन्द नगरपालिकाको वडा नं. ११ र १२ (साविकको देउराली गाविसम) मा २०६६ सालबाट करारमा काम गर्दै आएका खरिदार मुक्तिप्रसाद घिमिरे, २०७० सालबाट काम गर्दै आएका कार्यालय सहयोगी खगेन्द्रकुमार घिमिरे, सोही वडामा २०७६ सालबाट काम गर्दै आएका सन्तोष कार्की र वडा नं– १० (साविकको सामपाङ गाविस) मा २०६३ सालबाट काम गर्दै आएका कार्यालय सहयोगी धर्मानन्द काफ्ले रहेका छन् ।
यस सम्बन्धमा बुझ्दा नगरपालिकाका प्रमुख वीरबल राईले करारका कर्मचारीहरुले पाउने तलब दिने व्यवस्था मिलाउने प्रयास भइरहेको बताए । नगरपालिकाले २०७४ साउन महिनाबाट नै नियुक्ति दिएर जाने निर्णय गरेको भए पनि तत्कालीन प्रमुख प्रशासकीय अधिकृतका कारण समस्या उत्पन्न भएको उनले बताए ।
उनले भने, ‘हामी उनीहरुलाई तलब दिलाउने पक्षमै छौं, यसअघि सरुवा भएर गएका प्रशासकीय आधिकृतले उनीहरुलाई नियुक्तिपत्र समयमा नदिँदा यस्तो समस्या भएको हो, सरुवा भएर गए पनि ती प्रशाकीय अधिकृतलाई भेटेरै पीडित कर्मचारीको नियुक्तिपत्रमा हस्ताक्षर गराएर तलब दिने लक्ष्यका साथ काम भइरहेको छ ।’