महिलाका लागि दरिलो आर्थिक स्रोत ः तरकारी खेती |

प्यूठान । पछिल्लो समय प्यूठानका महिलाहरु मौसमी तथा बेमौसमी तरकार खेतीतर्फ लागेका छन । मौसमी तथा बेमौसमी तरकारी खेती गर्दा आफ्नो लागि दरिलो आर्थिक उपार्जन हुने भएपछि अधिकांश ग्रामीण तथा शहरी क्षेत्रका महिलाहरू तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।
प्यूठान जिल्लाका महिलाहरु अहिले मौसमी तथा बेमौसमी तरकारी खेती गरेर आफ्नै कमाइमा रमाउन थालेका छन् । परिश्रम गरे जुनसुकै कार्य पनि सहज रूपमा सफल हुने र त्यसबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् यी महिलाहरू । हाल प्यूठान नगरपालिका–८ खप्रेङखोलाका अधिकांश महिलाहरु तरकारी खेतीवाटै आफ्नो तथा परिवारको खर्च जोहो गर्र्दै आएका छन । आफ्नो श्रीमान्को कमाइले मात्र परिवारको खर्चपर्च व्यवस्थापन गर्न कठिन भएपछि तरकारी खेती गर्न थालेको उनीहरू बताउँछन् । श्रीमान् एक्लैको कमाइले परिवारको खर्च, छोराछोरीको पढाइलेखाइ तथा बिरामी पर्दा समस्या हुने भएपछि आयआर्जनकै लागि उक्त खेतीमा लागेको खप्रेङखोलाकी कमला पन्थीले वताइन् ।
उनले भनिन्, ‘करिब ६ वर्षयतादेखि तरकारी खेती गर्दै आएकी छु, यसबाट परिवार धान्ने दरिलो आधार बनेको छ ।’ उनले तरकारी खेतीबाट आएको पैसाले छोराछोरीको स्कूल खर्च, साँझबिहान हातमुख जोर्न र बिरामी हुँदा औषधि उपचार गर्ने खर्च तरकारी खेतीवाटै कमाउने गरेको बताउँछिन् । उनले सानोतिनो किराना पसल गरे पनि त्यसबाट राम्रो कमाइ नभएकाले तरकारी खेतीमा लागेको खुलासा गरिन् । करिब १ रोपनी जमिनमा मौसमी तथा बेमौसमी तरकारी फलाउँदै आएको उनको भनाइ छ । सुरुमा न्यून रकम लगानी गरी तरकारी खेती गरेकी उनले हाल लगानी बढाएर बार्षिक साढे २ लाखसम्म आम्दानी गर्ने गरेक िछिन् ।
त्यस्तै अर्की कृषक विपना भण्डारी पनि करिब ४ वर्षदेखि तरकारी खेतीमा रमाउँदै आएकी छिन् । साढे २ रोपनी जग्गा भाडामा लिएर ५० हजार लगानीमा शुरु गरेको तरकारी खेतीबाट बार्षिक ३ लाखसम्म कमाइ हुने गरेको उनले बताइन् । उनले भनिन्, ‘शुरुमै १ लाख ५० हजार तिरेर जग्गा भाडामा लिई तरकारी खेती गर्न थालेकी हुंँ, आम्दानी राम्रै भइरहेको छ । आफ्नो कमाइमा रमाउनुको मज्जा नै बेग्लै छ ।’
उनले मौसमको प्रकृतिअनुसार आलु, भन्टा, टमाटर, खुर्सानी, बन्दा, काउली, सिमीलगायतका तरकारी फलाउँदै आएकी छिन् । उत्पादित तरकारी जिल्लाको वाग्दुला, बिजुवारका साथै दम्तीमा विक्री हुदै आएको छ । जिल्लामा तरकारीका लागी कुनै समस्या नभएको उनी वताउँछिन् । अहिले प्यूठान जिल्लामा दैनिक २०–२५ लाखको तरकारी आयात हुने गरेको छ । जिल्ला तरकारी खेतीका लागि राम्रो सम्भावना भउकाले स्थानीय सरकारले अनुदान तथा सहयोग गर्नुपर्ने उनीहरुको माग छ ।