मोफसलमै पहिलोपटक नोबेलमा ईपी ल्याब |

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले ईपी ल्याब सेवा शुरू गरेको छ । अस्पतालले मुटुको चाल गडबडीसम्बन्धी उपचारका लागि मोफसलमै पहिलोपटक ईपी ल्याब शुरू गरेको हो । राजधानीबाहिरको पहिलो अर्थात् नेपालको दोस्रो ल्याबको रूपमा नोबेलले ईपी ल्याब सञ्चालन गरी मुटुको चालसम्बन्धी रोगको दिगो उपचार थालेको हो ।
यो सेवाको अभावले गर्दा मुटुको चाल अत्यधिक बढ्ने समस्या भएका काठमाडौंबाहिरका बिरामीले वर्षौंदेखि नियमित औषधि सेवन गर्नुपर्ने बाध्यता रहँदे आएको थियो । यसअघि राजधानीको गङ्गालाल अस्पतालमा मात्र यो ल्याब रहेकाले उपचारका लागि महीनौं कुर्नुपर्ने समस्या थियो । तर, अब नोबेलले ईपी ल्याब सञ्चालन गरेपछि मुटुको चाल बढेर समस्या झेल्दै आएका बिरामीले सहज उपचार पाउने नोबेल अस्पतालका डा. राजेश नेपाल बताए ।
नोबेलले दक्ष जनशक्तिको व्यवस्थापन गरेर यो सेवा उपलब्ध गराएपछि बिरामीबाट सकारात्मक प्रतिक्रिया आएकाले आफूहरू उत्साहित बनेको नोबेल अस्पतालका सञ्चालक डा. सुनील शर्माले बताए । नोबेलमा पहिलो दिन नै ६ जनाले ईपी ल्याबबाट उपचार गराएका छन् । विपन्न नागरिक औषधि उपचार कोषमार्फत पनि नोबेलले उपचार सेवा गर्दै आएकाले विपन्न नागरिकले ईपी ल्याबबाट निःशुल्क उपचार पाएका छन् ।