तातोपानी नाका आगामी मेदेखि सञ्चालनमा आउँदै | नेपालले मितेरी पुलसम्मको सडक बनाइसक्नुपर्ने
काठमाडौं । वि.सं. २०७२ सालमा गएको महाभूकम्पसँगै बन्द भएको तातोपानी नाका पुनः सञ्चालनमा आउने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार नेपाल–चीनबीचको पुरानो व्यापारिक नाकाको रूपमा रहेको यो नाका सञ्चालनका लागि चीनसँग विस्तृत रूपमा छलफल भएपछि सन् २०१९ को मे महीनादेखि सञ्चालनमा आउने निश्चित भएको हो ।
उनका अनुसार सो नाका सञ्चालनका लागि नेपालले आफ्नोतर्फको मितेरी पुलसम्मको सडक निर्माण गर्नुपर्ने भएको छ । उक्त काम सम्पन्न भएसँगै चीनले सो नाका सञ्चालनमा ल्याउने निश्चित गरेको ज्ञवालीले बताए । यससँगै आगामी दिनमा चीनको भन्सार कार्यालय भने न्यालममा रहने हुँदा तातोपानी नाकाको क्लियरेन्स भने अब न्यालमबाटै हुने भएको छ ।
भूकम्पले खासा वरपर क्षेत्रमा ठूलो क्षति पु¥याएका कारण चीनले त्यहाँको बस्ती अन्य स्थानमा सारेको छ । हाल तातोपानीस्थित मितेरी पुलदेखि ७ किलोमिटर वर नेपाली भूभाग लार्चामा चीन सरकारको करीब २ अर्ब ३५ करोड रुपैयाँ सहयोगमा सुक्खा बन्दरगाह निर्माण भइरहेको छ । सन् २०१९ को मे महीनाभित्र बन्दरगाह तथा सडक मार्ग दुवै तयार भई सञ्चालनमा आउने अपेक्षा गरिएको छ । हाल चीनसँग व्यापारका लागि रसुवागढीस्थित केरुङ नाका मात्र सञ्चालनमा छ । यो मार्गलाई चीनबाट सामान ओसारपसार गर्न नेपालका लागि छोटो मार्गका रुपमा लिइन्छ ।