५५ करोडको लगानीमा तनहुँको बन्दीपुरमा केबुलकार बन्ने |
तनहुँ । तनहुँको चर्चित पर्यटकीय गन्तव्य बन्दीपुरमा ५५ करोडको लगानीमा केबुलकार निर्माण हुने भएको छ । बन्दीपुर केबुलकार प्रालि र आरकेडी रियलस्टेट कम्पनीको साझेदारीमा पर्यटन विकासका लागि सो क्षेत्रमा केबुलकार निर्माण हुन लागेको हो ।
१ हजार ५ सय मिटर दूरीको केबुलकार निर्माण हुने बन्दीपुर केबुलकारका अध्यक्ष तारानाथ उपाध्यायले जानकारी दिए । करीब ४ वर्षपहिले निर्माण गरिने भनिएको केबुलकार २०७२ सालको भूकम्प र केबुलकार जडानका लागि चाहिने लगानी जुट्न नसक्दा निर्माण रोकिएको थियो । अहिले करीब सबै लगानी जुटिसकेको र बन्दीपुर गाउँपालिका–४ स्थित ठूल्ढुङ्गा स्वाँराबाट वडा नम्बर ५ को बरालथोकसम्म केबुल निर्माणका लागि उद्योग विभागबाट अनुमति प्राप्त भइसकेको कम्पनीले बताएको छ ।
ठूल्ढुङ्गाबाट शुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुर पुग्नेछ । केबुलकारबाट प्रतिघण्टा २ सयजना वारपार गर्न सक्नेछन् । कम्पनीले टप र बटम स्टेशनमा स्थानीयको सहकार्यमा होटल तथा रेस्टुराँ खोल्ने र बटम स्टेशनमा निजी सवारीसाधन पार्किङको व्यवस्थासमेत गर्ने भएको छ । कम्पनीले वन विभागबाट प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (आर्ईईई) प्रमाणपत्र पनि पाइसकेको छ, जसअनुसार सो क्षेत्रमा करीब ४ सय ५० ओटा रूख काट्नुपर्ने हुन्छ । पृथ्वी राजमार्गको डुम्रेबाट बन्दीपुरसम्म ७ किलोमिटर दूरी छ । बसबाट २० मिनेटको दूरी केबुलकार निर्माणपछि ९ मिनेटमा छोटिने कम्पनीले बताएको छ ।