सरकार बजेट कार्यान्वयनका लागि ठोस कार्ययोजना बनाउँदै |
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०७५÷७६ को बजेट कार्यान्वयनका लागि असार २५ भित्रै ठोस कार्ययोजना बनाउने भएको छ । त्यसका लागि सबै मन्त्री तथा सचिवलाई शुक्रवारै प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । उक्त कार्य असार १५ गतेभित्रै गरिसक्न निर्देशन दिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार प्रम ओलीले जनअपेक्षा पूरा हुने गरी कार्ययोजना तय गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्न निर्देशन दिएका हुन् ।
यसअघि बजेट आए पनि जनताले प्रत्यक्ष रूपमा अनुभव गर्न नपाउने तथा कार्यान्वयन कम हुने स्थिति देखिएपछि सरकारले यस्तो कायृप्रणाली लागू गर्न लागेको अर्थमन्त्री डा. खतिवडाको भनाइ छ । १ वर्षपछि कार्ययोजनाबमोजिम कार्य भए÷नभएको अनुगमन र मूल्याङ्कनसमेत गरिने अर्थमन्त्री डा. खतिवडाले बताए ।
प्रधानमन्त्रीको निर्देशन उद्धृत गर्दै डा. खतिवडाले भने, ‘बजेट कार्यान्वयनको कार्यतालिका, संरचनागत तयारी, कर्मचारी व्यवस्थापन र कानून बनाउनेलगायत काम सक्न भन्नुभएको हो ।’ प्रधानमन्त्रीको निर्देशनसँगै सबै मन्त्रालयले सम्बन्धित क्षेत्रको वास्तविक विद्यमान अवस्था र आगामी आवभित्र गर्न सकिने बजेटमा समावेश योजना समेटी कार्ययोजना बनाउने बताइएको छ । खतिवडाका अनुसार मन्त्रालयहरूले बनाउने कार्ययोजनामा पाँच वर्षलाई आधार वर्ष बनाएर वर्षैपिच्छे गर्न सकिने कामको योजना उल्लेख हुनुपर्ने छ ।