विराटनगरको आधुनिक बसपार्क असारदेखि सञ्चालनमा आउँदै |
विराटनगर । लामो समयदेखि खाल्डा–खुल्डी र धूलोले ग्रस्त विराटनगरको बसपार्क केही दिनभित्रै सञ्चालनमा आउने भएको छ । विराटनगरवासीले तोकिएकै समयमा बस टर्मिनल (पार्क) निर्माण सम्पन्न भएपछि राहत महसूस गरेका छन् । बसपार्कको अधिकांश काम सकिएको छ । पुरानो बसपार्क रहेकै स्थानमा निर्माण गरिएको बस टर्मिनल केही असारदेखि नै सञ्चालनमा आउने भएको छ ।
बसपार्कमा कालोपत्र मात्र गर्न मात्र बाँकी रहेको विराटनगर महानगरपालिका इञ्जिनीयर अर्जुन थापाले जानकारी दिए । उनले कालोपत्र गर्ने काम पनि छिट्टै नै सकिने बताए । २०७३ फागुनदेखि शुरू भएको उक्त बस पार्क निर्माणको अवधि १८ महीना तोकिएको थियो । उक्त आधुनिक बसपार्क नगर विकास कोषको ८ करोड ४७ लाख रुपैयाँ ऋण सहयोगमा महानगरपालिकाले निर्माण गरेको हो ।
गौरी–पार्वती निर्माण सेवा काठमाडौंले निर्माणको जिम्म पाएको उक्त बसपार्क ३० कट्ठा क्षेत्रफलमा निर्माण गरिएको छ । साना ठूला गरी ५७ ओटा बस ओहोरदोहोर गर्न मिल्ने उक्त बसपार्कमा व्यवस्थित टिकट काउण्टर, यात्रु प्रतीक्षालय, रेष्टुराँ, ब्यागेज राख्ने कोठालगायत रहनेछन् । टर्मिनलको भुइँतलामा प्रवेश र प्रस्थानद्वार राखिनेछ ।