१४ मेवाको घारखोला आयोजनाको निर्माण कार्य शुरू |
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गरिने भनिएको १४ मेगावाटको घारखोला जलविद्युत् आयोजनाको निर्माण कार्य शुरू भएको छ । रू. २ अर्ब ४१ करोड ५८ लाख लागतको सो आयोजना म्याग्दी हाइड्रोपावर लिमिटेडले निर्माण गर्न थालेको हो ।
कम्पनीले हाइड्रो कन्सल्ट इञ्जिनीयरिङलाई परामर्शदाता र साउथ एशियन इन्फ्राष्ट्रक्चर प्रालिलाई सिभिल ठेकेदारको रूपमा छनोट गरेको छ । कुरिलाबगरमा बाँध रहने सो आयोजनाको हाल बाँध, सुरुङ र विद्युत् गृह निर्माणको काम शुरू गरिएको कम्पनीका जनसम्पर्क अधिकृत प्रकाशचन्द्र पौडेलले जानकारी दिए ।
घारको बिरौटादेखि कुरिलाबगरसम्म ३ किलोमिटर पहुँचमार्गको ट्र्याक निर्माण गरेर त्यसको विस्तार र स्तरोन्नतिको काम जारी छ । ३ किलोमिटर ४८ मिटर लामो सुरुङ रहने आयोजना २०७७ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाका इञ्जिनीयर जोशेवलाल वज्राचार्यले बताए ।
पहुँचमार्ग प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरणको काम पनि अन्तिम चरणमा पुगेको र थप मुआब्जा वितरणको तयारी पनि भइसकेको छ । अन्नपूर्ण गाउँपालिकामा घारखोलासँगै ४२ मेगावाटको मिस्त्रीखोला र ५ मेगावाटको घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण भइरहेको छ ।
घारखोला आयोजनामा एनएमबी बैङ्कको अगुवाइमा एनआईसी एशिया र कैलाश विकास बैङ्कले १ अर्ब ६९ करोड रुपैयाँ लगानी गर्ने भएका छन् । त्यसैगरी ३० प्रतिशत शेयर लगानी आयोजनाका संस्थापक र प्रभावित क्षेत्रका बासिन्दाको रहनेछ ।
म्याग्दीमा १ सय मेगावाटको नीलगिरि, ४२ मेगावाटको राहुघाट, २५ मेगावाटको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजना पूर्वाधार निर्माणको तयारीमा छन् । विद्युत् विकास विभागका अनुसार म्याग्दीमा १ सय ४४ दशमलव ३ मेगावाट क्षमताका ७ आयोजनाले पूर्वाधार निर्माणको अनुमति पाएका छन् भने १ सय ६४ मेगावाट क्षमताका ४ आयोजनाले पूर्वाधार निर्माणको थालनी गरेका छन् ।