अब निजी वन पैदावार पनि विक्री गर्न नपाइने |

काठमाडौं । निजी जग्गामा लगाइएको वन पैदावारलाई कटान गरी विक्री गर्ने सोचाइमा हुनुहुन्छ ? यदि त्यस्तो हो भने अबदेखि कानूनको फन्दामा परी तपाईंलाई सजायसमेत हुन सक्छ ।
सर्वोच्च अदालतको पूर्ण इजलाशले निजी जग्गामा रहेका वन पैदावारलाई कसैले पनि विक्रीवितरण गर्न नसक्ने गरी एकरूपता कायम गरिदिएको छ । सर्वोच्च अदालतको सो निर्णयबाट निजी प्रयोजनका लागि भने त्यस्तो पैदावार प्रयोग गर्न कुनै बन्देज लागेको छैन ।
न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको पूर्ण इजलाशले गरेको आदेशमा उल्लेख गरिएको छ, ‘कुनै पनि व्यक्तिको दर्ताको जग्गामा रहेका रुखहरू निजी सम्पत्ति भए तापनि रूखबिरुवाजस्ता जैविक विविधता रहेका वस्तुहरूले सार्वजनिक रूपमा नै पर्यावरणलाई बचाइ राख्न मद्दत दिइरहेको हुन्छ । तसर्थ यस्तो वस्तुको उपभोग, प्रयोग पर्यावरण र जैविक विविधतालाई क्षति नहुने गरी हुनु वाञ्छनीय हुन्छ ।’
उक्त पूर्ण इजलाशले प्रतिपादन गरेको नजीर बिहीवार सर्वोच्च अदालतले सार्वजनिक गरेको हो । वन ऐन, २०४९ को दफा २ (ग) मा वन पैदावार भन्नाले काठ, दाउरा, गोल, खैरकच, खोटो, काठको तेल, बोक्रा, लाहा, पिपला पिपली, रूख, पात फल, फूल, मौवा, चिराइतो र सबै प्रकारका जङ्गली जडीबुटी पर्ने उल्लेख गरिएको छ ।