दुईपाङ्ग्रे ट्याक्सीको सम्भावना |
काठमाडौं । सार्वजनिक यातायातका रूपमा विश्वका विभिन्न देशमा दुईपाङ्ग्रे मोबाइल ट्याक्सीको प्रयोग बढ्दै गएको छ । ती देशमा बस, मिनीबस तथा ट्याक्सीको सट्टा मोटरसाइकल मोबाइल ट्याक्सीको प्रयोग बढ्दो छ । हाल यो सेवा अमेरिका, इरान, बैङ्कक, स्पेन, मलेसिया, यूके, इण्डोनेशिया, सिङ्गापुरलगायत देशमा शुरू भइसकेको छ । अफ्रिकी मुलुकहरूमा पनि यो सेवा लोकप्रिय रहेको पाइन्छ । मोटरसाइकल ट्याक्सीको प्रयोग बढ्नुका पछाडि आर्थिक रूपमा हुने फाइदा प्रमुख रहेको देखिन्छ । ट्याक्सीको तुलनामा मोटरसाइकल ट्याक्सीको भाडादर करीब २० प्रतिशत सस्तो पर्ने तथा उपभोक्ताले ‘डोर टु डोर’ सुविधा पनि पाउने हुनाले दुईपाङ्ग्रे ट्याक्सी व्यवसाय फस्टाएको भीजी अटोमोबाइल्स प्रालिका महाप्रबन्धक निकुञ्ज अग्रवाल बताउँछन् । उनी भन्छन्, ‘जुन देशमा सार्वजनिक यातायातको वैकल्पिक व्यवस्थाको खाँचो रहेको हुन्छ, त्यहाँ मोटरसाइकल ट्याक्सी उत्तम विकल्प हो ।’ वर्तमान अवस्थामा अपर्याप्त सार्वजनिक सवारी तथा साँघुरो सडकका कारण काठमाडांैमा पनि मोटरसाइकल ट्याक्सीको राम्रो सम्भावना रहेको उनको भनाइ छ । साथै, बेरोजगार युवावर्गलाई रोजगारीको राम्रो अवसर पनि यसले प्रदान गर्छ । कम आयस्तर भएका जनतालाई पनि यो सुविधाले राहत प्रदान गर्छ ।
मोटरसाइकल ट्याक्सी शहरका ठूला सडकदेखि परम्परागत बस्तीका साँघुरा सडकसम्म सजिलै जान सक्छन् । बस, मिनीबसलगायतका सार्वजनिक साधनहरूले यात्रुको व्यक्तिगत चाहनालाई पूरा गर्न सक्दैनन् । तर, मोटरसाइकल ट्याक्सीमा एकजना मात्र यात्रु हुने कारण उसको चाहनाअनुसारको गन्तव्यमा सजिलो र छिटो पु¥याउन सकिन्छ । शहरनजिकका ग्रामीण क्षेत्रमा जहाँ कच्ची र साँघुरा सडक छन्, त्यस्ता ठाँउहरूमा पनि मोटरसाइकल ट्याक्सीबाट सजिलै यात्रा गर्न सकिन्छ । नेपालजस्तो मुलुकमा अत्यधिक सम्भावना भए पनि मोटरसाइकल ट्याक्सी सञ्चालनका लागि अहिलेसम्म कुनै योजना बनेको छैन । मोटरसाइकल ट्याक्सीले नेपालको ट्राफिक व्यवस्थापनमा पार्ने असर तथा यात्रुको सुरक्षालगायतका विषयमा अध्ययन गर्न आवश्यक रहेको यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक शरद अधिकारीको भनाइ छ । ‘नेपालमा दुईपाङ्ग्रे ट्याक्सी सञ्चालनको सम्भावना राम्रो छ,’ उनले भने । नेपालका शहरको अवस्थालाई विचार गर्दै विभागले धेरै यात्रु अट्ने ठूला सार्वजनिक सवारीसाधनलाई भने महŒव दिन थालेको छ । दुईपाङ्ग्रे ट्याक्सीको विषयमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सुरक्षा निकाय र मोटरसाइकल विक्रेता कम्पनीहरूले एकआपसमा छलफल गर्नुपर्ने अधिकारीको धारणा छ । नेपालमा यसको आवश्यकता महसूस भएमा सेवा सञ्चालन गर्न समस्या नभएको उनी बताउँछन् ।
नेपालमा मोटरसाइकलको आयात हरेका वर्ष बढ्दै गएको छ । यसले शहरको ट्राफिक व्यवस्था र सुरक्षामा पनि चुनौती थपिँदै गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरीक्षक (प्रवक्ता) पवनकुमार गिरि बताउँछन् । उनी भन्छन्, ‘दुईपाङ्ग्रेलाई सवारीको दृष्टिकोणले असुरक्षित मानिन्छ ।’ अहिले वाग्मती अञ्चलमा मात्र ६ लाख मोटरसाइकल दर्ता भएका छन् । तीमध्ये अधिकांश काठमाडौं उपत्यकामा गुड्ने गर्छन् । नेपालजस्तो खुला सिमाना भएको देशमा यस्तो सेवाले आपराधिक गतिविधि बढाउन सक्नेतर्फ पनि सजग हुनुपर्ने गिरिको भनाइ छ । अत्याधुनिक सुरक्षा जाँचका उपकरण जडान नभएको काठमाडौं उपत्यकामा अहिले नै मोटरसाइकल ट्याक्सी सञ्चालन गर्न उपयुक्त नभएको गिरि बताउँछन् ।
सस्तो र सहज सुविधा
शहरीकरणका साथै बढ्दो जनसङ्ख्याका कारण विश्वभरका ठूला शहरहरूमा त्यहाँको यातायात व्यवस्थापन गम्भीर चुनौतीको विषय भइसकेको छ । विकासशील देशका शहरहरूमा साँघुरा सडक हुने भएकाले अहिलेको सार्वजनिक यातायातका लागि मोटरसाइकल ट्याक्सी राम्रो विकल्प हो । चीनमा शहरी जनसङ्ख्या सन् २०३० सम्ममा १ अर्ब पुग्ने अनुमान छ । त्यस्तै, भारत तथा उत्तरी एशियामा पनि शहरी जनसङ्ख्या वृद्धिदर उच्च रहेको छ । अफ्रिका महादेशमा पनि ४ देखि ६ प्रतिशतले शहरी जनसङ्ख्यामा वृद्धि भइरहेको देखिन्छ । विशेषगरी जनसङ्ख्या बढ्दै गरेको यस्ता शहरी क्षेत्रमा मोटरसाइकल ट्याक्सी लोकप्रिय बन्न थालेको छ । यसको कारण मोटरसाइकल ट्याक्सीले बस, ट्रेन, ट्याक्सी, मिनीबसलगायतका सार्वजनिक सवारीको तुलनामा छिटो र कम मूल्यमा यात्रुहरूलाई सुविधा दिन सक्नु नै रहेको देखिन्छ । साथै, मोटरसाइकलको खरीद मूल्य ठूला सवारीसाधनको तुलनामा कम हुनु पनि अर्को प्रमुख कारण हो । अफ्रिकी देशहरूमा करीब १ हजार डलरमा चाइनिज मोटरसाइकल पाउन सकिन्छ । कम लगानीमा रोजगारी सृजना हुने कारणले पनि यो सेवा सञ्चालनमा व्यापकता आएको हो । ठूला सवारीसाधनले विभिन्न स्टपमा रोक्नुका साथै धेरै समय लगाएर एउटा निश्चित गन्तव्यसम्म मात्र सुविधा दिन सक्छन् । तर, मोटरसाइकल ट्याक्सीबाट छिटोछरितो यात्राका साथै घरको ढोकासम्मै पुग्ने सुविधा पाउन सकिन्छ ।
नीतिनियमको आवश्यकता
नेपालमा मोटरसाइकल ट्याक्सी सञ्चालनका लागि अहिलेसम्म कुनै नीतिनियम बनेको छैन । नेपालजस्तो अल्पविकसित देशका लागि मोटरसाइकल ट्याक्सीको आवश्यकता धेरै हुने भीजी अटोमोबाइल्स प्रालिका महाप्रबन्धक अग्रवालको भनाइ छ । ‘साँघुरा सडक, पेट्रोल तथा डिजेलको आयात र बढ्दो बेरोजगारी रहेको हाम्रो देशमा मोटरसाइकल ट्याक्सीको आवश्यकता धेरै छ,’ उनले भने । थोरै लगानी गरेर यो सेवाबाट धेरै युवाले रोजगारी पाउन सक्ने अग्रवालको भनाइ छ । सेवा सञ्चालनका लागि विश्वका विभिन्न देशमा लागू भएका नीतिनियम अध्ययन गरेर नेपाल सरकारले नेपालमा पनि सेवा शुरू गर्नुपर्ने उनी बताउँछन् । त्यस्तै मोटरसाइकल ट्याक्सी सञ्चालनका लागि लिखित रूपमा कसैले माग गरेमा यस विषयमा नेपाल सरकार छलफल गर्न तयार रहेको यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक अधिकारीले बताए ।
नेपालमा प्रभावकारी हुन सक्ने
नेपालमा आर्थिक वर्ष २०६९÷७० को चैत मसान्तसम्ममा १ लाख ३५ हजार ४ सय ८२ ओटा मोटरसाइकल आयात भएको छ । गत चैत मसान्तसम्ममा नेपालमा ११ लाख ६७ हजार ३ सय ६२ ओटा मोटरसाइकल आयात भइसकेको यातायात व्यवस्था विभागको तथ्याङ्कले देखाउँछ । विदेशबाट भित्रिरहेको रेमिट्यान्सले आर्थिक गतिविधि बढाउँदा मोटरसाइकलको विक्री पनि बढेको अटोमोबाइल व्यवसायीहरू बताउँछन् । नेपालमा मोटरसाइकललाई फेशनका रूपमा प्रयोग गर्नेहरू धेरै छन् । केही वर्षदेखि नेपालमा विभिन्न कम्पनीले बैङ्कको ऋणमार्फत किस्तामा मोटरसाइकल विक्री गर्दै आएका छन् । यसको फाइदा लिँदै कम पूँजी भएकाले पनि किस्तामा मोटरसाइकल खरीद गरी रोजगारी पाउन सक्ने देखिन्छ ।
भारतको गोवामा पनि शुरू
भारतको गोवामा मोटरसाइकल ट्याक्सी सेवा शुरू गरिएको छ । सार्वजनिक यातायातका रूपमा यात्रु ओसारपसार गर्नका लागि यस्ता मोटरसाइकललाई लाइसेन्स दिइएको हुन्छ । गोवामा यस्ता मोटरसाइकल चालकहरूलाई पाइलट भन्ने गरिन्छ । एक्ला र धेरै सामान नभएका यात्रुहरूले मात्र ट्याक्सीको तुलनामा यो सेवा धेरै कम मूल्यमा पाइरहेका छन् । यस्ता मोटरसाइकलमा मिटर जडान नगरिएको भए पनि सरकारले निश्चित ठाउँहरूका लागि पहिले नै भाडा निर्धारण गरेको छ ।
मोटरसाइकल ट्याक्सीको शुरुआत
चीनमा मोटरसाइकल ट्याक्सीको शुरुआत सन् १९८० देखि १९९० को बीचमा भएको मानिन्छ । त्यस्तै स्वीडेनमा सन् १९९४÷९५, यूकेमा सन् १९९० र अमेरिकामा सन् २०११ मा यो सेवाको शुरुआत भइसकेको छ । साथै, क्यामरुन, कम्बोडिया, भारत, इण्डोनेशिया, फिलिपिन्स, थाइल्याण्ड, भियतनामलगायत थुपै्र देशमा पनि मोटरसाइकल ट्याक्सी सेवा सञ्चालन भइरहेको छ ।
मोटरसाइकल ट्याक्सीका फाइदाहरू
– कम शुल्कमा यात्रा गर्न सकिने
– सडकमा ट्राफिक जामको समस्या कम हुने
– थोरै लगानीमा रोजगारी अवसर
– तेल खपतमा कमी
– यात्रा छिटो र छरितो हुने
– साँघुरा सडक भएका ठाउँहरूमा पनि सजिलै यात्रा गर्न सकिने