सिन्धुलीका १६ निर्माण कम्पनीमाथि कारबाही हुँदै |
सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले १६ ओटा निर्माण कम्पनीलाई कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिश गरेको छ । कार्यालयले ती सबै कम्पनीलाई समयमा नै निर्माण सम्पन्न नगरेका भन्दै कारबाहीका लागि सिफारिश गरेको हो । कार्यालयले जिल्लाका ९ ओटा स्थानीय तहबाट प्राप्त विवरणअनुसार काम नगर्ने ठेकेदार कम्पनी र ठेकेदारको नाम सिफारिश गरी पठाएको बताएको छ ।
कार्यालयले सम्झौताअनुसार समयमा काम नगर्ने कम्पनीले १९ ओटा आयोजना अलपत्र पारेको जानकारी दिएको छ । कारबाहीको सिफारिश गरिएका निर्माण कम्पनीहरूमा केएस देवीरमण जेभी, बीजी निर्माण सेवा, आत्रेय निर्माण सेवा प्रालि, शुभम् निर्माण सेवा र धुलिखेल शिवशम्भु÷कुँवर जेभी छ ।
त्यस्तै, शिखर निर्माण सेवा, सिद्धबाबा आत्रेय नवयुग जेभी, स्वच्छ निर्माण सेवा काठमाडौं, पप्पु लुम्बिनी जेभी, गौरी पार्वती÷नीलगिरि नेशनल जेभी, पप्पु नेपाल प्रगति जेभी, सब उद्धार सगरमाथा जेभी, सुनौलो खिम्ती कन्ष्ट्रक्शन, बिरुवा कन्ष्ट्रक्शन प्रालि, सूर्य÷केएम जेभी र कन्काई÷थापा जेभीलाई कारबाहीको सिफारिश गरिएको छ ।
कुन कुन योजना अलपत्र ?
निर्माण कम्पनीहरूले समयमा काम नगरेका योजनामा डाँडी खहरे मझिनी दमार सडक, मधुटार रातामाटा सडक निर्माण भएका छैनन् । गाविस भवन डुँडभञ्ज्याङ, स्वास्थ्य चौकी भवन स्वल्पाठाना, गाविस भवन झाँगाझोली रातमाटा, गाविस भवन बस्तीपुर, कोलेनिका भवन, जिल्ला प्रशासन कार्यालयको भवन, भवनी उमावि तिनपाटनको भवनको समयमा काम हुन सकेको छैन ।
यसैगरी जिल्लामा ५ ओटा पुल निर्माणको काम पनि अलपत्र छ । ठेकेदार कम्पनीको लापर्बाहीका कारण कमला नदीको पुल, बाग्मती नदीको पुल, ककुरठाकुरको पुल, खाङसाङ सोखु पुल, बादुरे पुल समयमा निर्माण सम्पन्न हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालयकै भवन पनि २०७४ चैत मसान्तभित्रमा निर्माण सम्पन्न गरी सक्नुपर्ने थियो, तर हालसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन । उक्त भवनको हालसम्म ८० प्रतिशत पनि काम सम्पन्न नभएको कार्यालयले जानकारी दिएको छ ।