इष्ट टुरिजम मार्ट–२०१८ भोलिदेखि |
इटहरी । नेपाल पर्यटन बोर्डको आयोजनामा धरानमा ३ दिने ‘इष्ट टुरिजम मार्ट–२०१८’ सञ्चालन हुने भएको छ । धरान उपमहानगरपालिकाको संयोजनमा हन लागेको उक्त मार्ट प्रदेश १ को पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भोलि बिहीवारदेखि सञ्चालन हुने आयोजकले बताएका छन् ।
धरान–१० स्थित सैनिक भवन परिसरमा हुने मार्ट (व्यापार मेला)मा होटल व्यवसायी, ट्राभल एजेन्सीका ५० तथा प्रदेश १ का १४ जिल्लासहित सप्तरी र धनुषाका समेत गरी जम्मा ६१ ओटा पर्यटनसँग सम्बन्धित स्टल रहने मार्ट संयोजक तथा पर्यटनकर्मी भवेश श्रेष्ठले बताए । उनका अनुसार मार्टमा पूर्वका विभिन्न होटल व्यवसायी तथा ट्राभल एजेन्सीका आफ्ना विभिन्न प्याकेजसहित ५० ओटा स्टल रहनेछन् । त्यस्तै, प्रदेश १ को १४ जिल्लाका प्रत्येक जिल्लाले आफ्नो जिल्लामा भएको प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा अन्य विभिन्न पर्यटकीयस्थलको स्टल राख्नेछन् ।
यसैगरी, धनुषाको जनकपुरधाम र सप्तरीको सखडा भगवतीको पनि एक÷एक ओटा स्टल रहनेछन् । साथै, मार्टमा टुर अपरेटर, होटल व्यवसायी र गन्तव्यका समितिले आ–आफ्नो उत्पादनलाई आकर्षक तरीकाले प्रस्तुत गर्नेछन् । कार्यक्रमको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यक्रम रहेको आयोजकले बताएका छन् ।