मुग्लिङ–नारायणगढ खण्डका १४ पुलको बजेट स्वीकृत |
काठमाडौं । मुग्लिङ–नारायणगढ सडक खण्डमा मा १४ ओटा पुल निर्माण हुने भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुग्लिङ–नारायणगढ सडकमा ती पुल निर्माणका लागि बजेट स्वीकृत भइसकेको बताएका छन् । ती पुल २ वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि उनले बताए ।
उनले सोमवार नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसँगको भेटमा मुग्लिङ–नारायणगढ सडक खण्डमा देखिएको समस्या छिट्टै समाधान गरिने बताउँदै विद्युतीय सवारीसाधनको प्रयोग तथा विस्तारमा जोड दिइने बताए । नागढुङ्गा–नौबीसे सुरुङ मार्ग, उत्तरी नाका केरुङसम्मको सडक स्तरोन्नति र त्रिपुरेश्वर–माइतीघर आकाशेमार्ग (फ्लाइओभर) निर्माणको काम छिटै अघि बढाइने उनको भनाइ थियो । काठमाडौं–तराई दु्रतमार्ग (फाष्ट ट्र्याक)लाई काठमाडौं उपत्यकाको बाहिरी चक्रपथसँग जोडेर पूर्वाधारको पहुँचलाई थप व्यवस्थित र सहज बनाउने उनको भनाइ छ ।
चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको व्यापारघाटा कम गर्न र वातावरणलाई सन्तुलित राख्न विद्युतीय गाडीहरू उपयुक्त माध्यम भएको बताए । उनले देशको विकास र समृद्धिसँग जोडिएको नागढुङ्गा–नौबीसे खण्ड र मुग्लिङ–नारायणगढ सडक खण्डको यथाशीघ्र स्तरोन्नति गर्नुपर्नेमा जोड दिए ।