टेलिकमको निःशुल्क इण्टरनेट सेवा भूकम्प प्रभावित जिल्लामा |
काठमाडौं । नेपाल टेलिकमले भूकम्पबाट प्रभावित सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट र रसुवा गरी ४ जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इण्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका १ सय ८७, काभ्रेपलाञ्चोकका २ सय ८९, नुवाकोटका १ सय ५९ र रसुवाका ४० स्थानमा सो सेवा सञ्चालनमा ल्याएको हो ।
कम्पनीले भूकम्पबाट अति प्रभावित चार जिल्लाका जम्मा ७ सय ४७ सेवा केन्द्रमा यो सेवा उपलब्ध गराउने लक्ष्य लिएको थियो । हालसम्म उक्त कामको ९० प्रतिशतभन्दा बढी कार्य सम्पन्न भइसकेको बताइएको छ । आगामी असार मसान्तसम्ममा बाँकी सबै स्थानमा सेवा उपलब्ध गराउने लक्ष्य रहेको र सोअनुरूप दु्रत गतिमा काम भइरहेको कम्पनीले बताएको छ ।
कम्पनीले हालसम्म २ सय ८४ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १ सय ४७ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र २ सय ४४ विद्यालयमा विभिन्न प्रविधिमार्फत इण्टरनेट चलाउन सकिने व्यवस्था गरेको छ । कम्पनीले हाल उल्लिखित जिल्लाका विभिन्न स्वास्थ्यचौकी, वडा कार्यलय जस्ता स्थानमा निःशुल्क इण्टरनेट जडान गरेको हो ।
कम्पनीले उपलब्ध गराएको सो इण्टरनेट सेवाग्राहीले ती स्थानमा कम्तीमा ५ सय १२ केबीपीएस गतिको अनलिमिटेड इण्टरनेट सेवा २ वर्षसम्म निःशुल्क उपभोग गर्न पाउनेछन् ।