हिमालयन ट्राभल मार्ट सम्पन्न |
काठमाडौं । हिमालयन ट्राभल मार्ट २०१८ काठमाडौंमा सम्पन्न भएको छ । उक्त मार्टले नेपाललाई हिमालयको प्रवेशद्वारको रूपमा ब्राण्डिङ गर्दै सन् २०३० सम्ममा नेपालमा ५० लाख पर्यटक भिœयाउने लक्ष्य लिएको छ । विभिन्न ७ देशबाट ५२ ओटा विक्रेताको सहभागिता रहेको मार्टले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको आयोजकको दाबी छ । मार्टले नेपाललाई दक्षिण एशियाको माइस टुरिजमको मुख्य गन्तव्यका रूपमा स्थापित गरेको उनीहरूको धारणा छ । उनीहरुले हिमालयन ट्राभल मार्टले नेपाल र हिमाली गन्तव्यलाई प्रवद्र्धन गर्न सहयोग पुगेको बताएका छ ।
कार्यक्रममा अन्तरराष्ट्रिय ट्राभल ब्लगर्स मिडिया सम्मेलन, विभिन्न अन्तरराष्ट्रिय विज्ञका प्रस्तुति रहेका थिए । मिडिया सम्मेलनमा १८ देशका ४३ जना ब्लगरको सहभागिता थियो ।
कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सामाजिक सञ्जाल र नयाँ मिडियाले पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने र नकारात्मक कुराको निराकरण गर्ने विश्वास व्यक्त गरेका थिए । यस्तै, हिमालयन ट्राभल मार्टमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले नेपालमा पर्यटनको विकास र विस्तारको प्रचुर सम्भावना भएको र यसको समष्टिगत विकासका लागि सबैको सामूहिक प्रयास आवश्यक भएको बताए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले यस प्रकारका कार्यक्रमले नेपाललाई अन्तरराष्ट्रिय क्षेत्रमा परिचित बनाउँदै नेपालको पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने बताए ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपाल हिमाली गन्तव्यको केन्द्रबिन्दु रहेको र साहसिक पर्यटनको मुख्य केन्द्र रहेको बताए । पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनील शाक्यले सन् २०३० सम्ममा नेपालमा ५० लाख पर्यटक ल्याउने पाटाको लक्ष्य रहेको उल्लेख गर्दै आगामी दिनमा यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
कार्यक्रममा अन्तरराष्ट्रिय चीन लगानी मञ्चका अध्यक्ष डा. मार्कस ली, भारतीय चलचित्र उद्योगका प्रसिद्ध निर्देशक मधुर भण्डारकर, अन्तरराष्ट्रिय ब्लगर्स सङ्घका अध्यक्ष म्याट गिब्सन, पाटा अन्तरराष्ट्रियका अध्यक्ष क्रिस बोट्टरिललगायतले मन्तव्य राखेका थिए ।