सडकका सुपरभाइजरसहित निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर पक्राउ |
विराटनगर । गुणस्तरहीन काम गरेको भन्दै विराटनगरमा एक निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजरसहित सडक विभागका सुपरभाइजर पक्राउ परेका छन् । मापदण्डविपरीत नाला जोडाइको काम गरेको भन्दै विराटनगरको जनआन्दोलनचोकबाट टुण्डीरमण निर्माण सेवाका प्रोजेक्ट म्यानेजर रवि पन्तसहित तीन जना पक्राउ परेका हुन् । पक्राउ पर्ने अन्यमा सुपरभाइजर विनय शाह र सडक विभागका सुपरभाइजर देवराज बराल रहेका छन् ।
निर्धारित मापदण्ड उल्लङ्घन गर्दै नाला जोडाइको काम गरिरहेको भनेर सर्वसाधारणले सूचना दिएपछि अनुगमनमा पुगेका विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको निर्देशनमा प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो । पटकपटक चेतावनी दिँदासमेत गुणस्तरहीन काम नरोकिएपछि पक्राउ गर्न थालिएको प्रमुख पराजुलीले जानकारी दिए ।
महानगरले उक्त निर्माण कम्पनीका ठेकेदार कृष्ण बोहरा, सोही कम्पनीका मेनेजर रवि पन्त, सुपरभाइजरद्वय सञ्जय रजक, विनय साह र सडक कार्यालयका सुपरभाइजर देवराज बराललाई कारबाहीको सिफारिशसमेत गरेको छ ।