बन्दीपुरमा पर्यटक प्रहरी परिचालन |
तनहु (अस) । जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लाको पर्यटकीयस्थल बन्दीपुरमा पर्यटक प्रहरी परिचालन गरेको छ । पर्यटकहरूलाई सुविधा र सुरक्षाको प्रत्याभूति दिलाउन पर्यटक प्रहरी परिचालन गरिएको कार्यालयले जानकारी दिएको छ ।
प्रहरी प्रमुख सिद्धिविक्रम शाहले बन्दीपुर आउने पर्यटकहरूलाई सहज रूपमा घुमफिर गर्ने वातावरण बनाउन, पर्यटकहरूको सामानको सुरक्षा, होटल तथा गेष्ट हाउसमा चेक जाँच गर्न र पर्यटकका इन्स्योरेन्स भएका सामान हराएमा सम्बन्धित निकायसँग क्षतिपूर्तिका लागि समन्वय गर्ने काम पर्यटक प्रहरीले गर्ने बताए । पर्यटकहरूका समस्या सोझै बुझ्ने र त्यसलाई सहजीकरण गर्न सक्ने प्रहरीलाई खटाइएको कार्यालयले बताएको छ ।
पर्यटक प्रहरीको दरबन्दी पर्यटन मन्त्रालयले निर्धारण गर्ने गर्छ । बन्दीपुरमा आउने पर्यटकका समस्याबारे पोखरा खबर गर्नुपर्दा समस्या परेको पटक÷पटक गुनासो आएपछि बन्दीपुरमा पर्यटक प्रहरी बिट स्थापना गरी पर्यटक प्रहरी परिचालन गरिएको एसपी शाहको भनाइ छ । गर्मीयाममा बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको चाप अत्यधिक बढ्छ । अहिले बन्दीपुरमा दैनिक १ हजारको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । होम स्टेबाहेक हाल बन्दीपुरमा सानाठूला गरी ७० ओटा होटल, रेष्टुराँ, लज र रिसोर्ट सञ्चालनमा छन् ।