पाँच निर्माण कम्पनीको विवरण गृह मन्त्रालयमा |
तनहु । जिल्ला प्रशासन कार्यालय, तनहुँले समयमा काम नसक्ने विभिन्न पाँच निर्माण कम्पनीको विवरण गृह मन्त्रालयमा पठाएको छ । जिल्लाका विभिन्न सरकारी कार्यालयबाट निर्माण कार्यका लागि ठेक्का सम्झौता गरी समयमा काम नसक्ने ठेकेदार कम्पनीहरूको नाम र कार्य विवरण सङ्कलन गरी गृह मन्त्रालय पठाइएको कार्यालयले बताएको हो ।
सूचीमा परेका निर्माण कम्पनीमा स्वच्छन्द÷मना जेभी काठमाडौं, वाईपी कन्ष्ट्रक्शन प्रालि काठमाडौं, सन्तोषी निर्माण सेवा चितवन, वीटी जयबाबा जेभी काठमाडौं र सूर्य एण्ड सन्स प्रालि धरान रहेका छन् । काममा आलटाल गर्ने ठेकेदारको विवरण गृह मन्त्रालयबाट माग भएपछि ठेक्का आयोजना र कार्य प्रगतिबारे विवरण सङ्कलन गरी गृह मन्त्रालय पठाइएको प्रमुख जिल्ला अधिकारी भरत शर्माले बताए ।
कार्यालयले ठेकेदारलाई प्रशासन कार्यालयमा उपस्थित गराउन प्रहरीलाई पत्राचारसमेत गरिसकेको सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकृत तुलसीराम पौडेलले जानकारी दिए । कार्यालयका अनुसार स्वच्छन्द÷मना जेभीले जिल्लास्थित तीनओटा योजना निर्धारित समयमा सम्पन्न नगरेको उल्लेख छ । दमौलीस्थित महिला तथा बालबालिका कार्यालयको भवन २०७२ असार मसान्तसम्म सक्ने गरी ठेक्का सम्झौता भए पनि २ वर्ष पुग्न लाग्दासमेत अलपत्र अवस्थामा रहेको छ । सोही कम्पनीले ठेक्का लिएको श्रृङ्गपथ मार्गको कार्य २०७२ जेठमा सम्झौता भई २०७४ फागुनमा सकिनुपर्नेमा अझै ४१ प्रतिशत मात्र कार्य भएको छ । २०७४ चैत मसान्तसम्म सक्नुपर्ने चुँदी खोलाको पुल निर्माण कार्य ४३ प्रतिशत मात्र पूरा भएको छ ।
वाईपी कन्ष्ट्रक्शन प्रालिले ठेक्का लिएको सिन्धु मार्गको निर्माण २०७४ माघमा सम्पन्न गर्नुपर्नेमा ३५ प्रतिशत मात्र काम भएको छ । सन्तोषी निर्माण सेवाले जिम्मा लिएको कृष्ण मार्गको ठेक्का सम्झौता अवधि सकिन ३ महीना मात्र बाँकी रहँदा २३ प्रतिशत मात्र कार्य भएको छ । बीटी जयबाबा जेभी कम्पनीले ठेक्का लिएको लाब्दीखोला छिम्केश्वरी पुलको कार्य २०७२ फागुनमा सम्पन्न गर्ने गरी सम्झौता भएकोमा जम्मा ३० प्रतिशत मात्र काम पूरा भएको छ । त्यसैगरी, सूर्य एण्ड सन्स कम्पनीले २०७४ चैतमा सक्ने गरी जिम्मा लिएको बडहरे खोलाको पुल निर्माण २२ प्रतिशत मात्र पूरा भएको छ ।