बुटवल पावरको नगद लाभांश पारित |
काठमाडौं (अस) । बुटवल पावर कम्पनीको मङ्गलवार सम्पन्न २५औं साधारणसभाले साधारण शेयरधनीहरुलाई गतवर्षको नाफाबाट २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । कम्पनीले हाल जारी गरेको एफपीओका लगानीकर्ताले पनि पाउने गरी नगद लाभांशको प्रस्ताव पारित गरेको हो ।
कम्पनीले ४० लाख ८१ हजार कित्ता एफपीओ प्रिमियमसहित रू. ५ सय १ का दरले जारी गरेको थियो । एफपीओ विक्रीबाट प्राप्त रू. २ अर्ब ४ करोड ४६ लाख पूँजीलाई ३७ दशमलव ६ मेगावाटको काबेली–ए जलविद्युत् आयोजना, ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना तथा अन्य आयोजनालाई आवश्यक पूँजीका लागि खर्च गर्ने कम्पनीको भनाइ छ ।
नगद लाभांश दिने प्रस्ताव पारित गरे पनि लगानीकर्ताहरूले भने असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुले बोनस शेयर नदिएकोमा गुनासो गरेका हुन् । लगानीकर्ताहरूको गुनासोलाई ध्यानमा राखी आगामी दिनमा निराश नबनाउने प्रतिक्रिया कम्पनीले दिएको छ । उक्त सभाले कम्पनीको नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
बुटवल पावरले नेपालमा जलविद्युत् आयोजनाहरूको विकास गर्न आगामी ५ वर्षमा १ हजार मेगावाटको निर्माण प्रारम्भ गर्ने तथा २ अर्ब डलर लगानी गर्ने लक्ष्यसहित तीन चिनियाँ कम्पनीसँग सहकार्य गरेको जानकारी सभामार्फत गराएको छ ।