स्वास्थ्य परीक्षण गर्न नपाएपछि मलेशिया जाने प्रक्रिया रोकियो | माइग्राम्स र बायोमेट्रिक स्वास्थ्य परीक्षण सेवा बन्द
काठमाडौं (आपा) । श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले सरकारीसहित सबै स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउन पाउने व्यवस्था गर्ने निर्णय गरेपछि मलेशिया जाने कामदारको स्वास्थ्य परीक्षण रोकिएको छ । मन्त्री विष्टले उक्त निर्णय गरेपछि स्वास्थ्य व्यवसायीहरुले हाललाई बायोमेट्रिक स्वास्थ्य परीक्षण बन्द गराएका छन् । उनीहरुले स्वास्थ्य परीक्षण बन्द गरेपछि हाललाई मलेशिया जाने प्रक्रिया पनि रोकिएको छ ।
मन्त्री गोकर्ण बिष्टले मलेशिया जाने कामदारमाथि अवैधानिक रुपमा लादिएका सबै सिण्डिकेट खारेजीको घोषणा गरेपछि स्वास्थ्य संस्थाले सरकारलाई दबाब दिन स्वास्थ्य परीक्षणको कार्य रोकेका हुन् ।
कामदारमाथि आर्थिक भार हुने गरी शुल्क उठाउने संस्था र संयन्त्रमाथि अनुसन्धान गरेर कारबाही गर्न श्रम मन्त्रालयले गृह मन्त्रालयलाई सिफारिश गरेको थियो । यसलगत्तै मलेशिया जाने कामदारको हकमा लागू गरिएको माइग्राम्स र बायोमेट्रिक बन्द भएका छन् । मन्त्री विष्टले स्वास्थ्य क्षेत्रमा हुँदै आएको सिण्डिकेट खारेजीको घोषणा गरेका थिए । सरकारले माइग्राम्स, बायोमेट्रिक, आईएससी, भिएलन र ओएससीका सबै काम कारबाही तत्काल बन्द गर्न कूटनीतिक पहल थालेको थियो ।