हाउजिङ महँगो बन्दै | उपत्यकामा घरजग्गा व्यवसाय घट्यो
पछिल्ला वर्ष चक्रपथ आसपासका अधिकांश गाविस नगरपालिकामा परिणत भएपछि घरजग्गाको मूल्य ह्वात्तै बढेको छ । मोटर बाटोको सुविधा भएको जग्गा प्रतिआना १० लाखभन्दा कममा पाउन मुश्किल हुने गरेको उपभोक्ताहरू बताउँछन् । अझ सार्वजनिक सवारीको निकट पहुँच भएको, मुख्य सडक (कच्ची)मा जोडिएको तथा भित्री पक्की सडक भएको ठाउँमा जग्गाधनीले धक नमानी आनाको २० देखि ३० लाखसम्म भन्न थालेका छन् । घरजग्गामा भएको महँगीको असर हाउजिङ परियोजनाभित्रका घरमा पनि परेको छ । नयाँ भवन आचारसंहिता २०७२ अनुसार हाउजिङ कम्पनीले पहिलेको भन्दा धेरै जग्गा हाउजिङका लागि छुट्ट्याउनुपर्ने नेपाल आवास तथा घरजग्गा व्यवसायी सङ्घका महासचिव मीनमान श्रेष्ठले बताए । जग्गाको मूल्य तथा यस प्रावधानले हाल निर्माण भइरहेका हाउजिङको मूल्य केही बढेको उनको भनाइ छ ।
सानो क्षेत्रफलका हाउजिङको मूल्य २ करोडसम्म
अहिले एकल परिवारका लागि हाउजिङमा घर किन्न आउनेहरू धेरै रहेको व्यवसायी बताउँछन् । काठमाडौं केन्द्रित सबैजसो हाउजिङ डेभलपरहरूले अहिले साना प्लटका प्रडक्ट नै धेरै ल्याएका छन् । रोड शो रियल इस्टेट, बृहत् ग्रूप, डाउनटाउन हाउजिङ, सीई ग्रूप, पद्मा ग्रूप, सीजी प्रपर्टिजलगायत पछिल्लोे समय नयाँ हाउजिङ परियोजना ल्याएका सक्रिय रियल इस्टेट कम्पनीहरू हुन् । यी कम्पनीले दिएको जानकारीअनुसार हाल निर्माणाधीन हाउजिङमा साढे २ देखि ४ आनासम्मको प्लटमा बनेका एकाइ नै धेरै छन् । यति जग्गामा बनेका घरको मूल्य न्यूनतम मूल्य १ करोड १० लाखदेखि साढे २ करोडको रेञ्जमा छ ।
प्रिमियम हाउजिङको मूल्य ७ करोडसम्म
निर्माणाधीन हाउजिङ परियोजनाहरूमा ४ आनाभन्दा माथि ६ देखि साढे ६ आनासम्मको प्लटमा बनेका घरहरू छन् । यो रेञ्जका घरको मूल्य करीब २ करोड ५० लाखदेखि साढे ३ करोड रुपैयाँ छ । त्योभन्दा माथि १ रोपनीसम्मको प्लट राखेर उच्च वर्गका लागि प्रिमियम एकाइ पनि डेभलपरले केही हाउजिङ परियोजनामा राखेका छन्, जसको मूल्य ७ करोड रुपैयाँसम्म रहेको देखिएको छ । अधिकांश हाउजिङ कम्पनीले ठूला प्लट खोज्दै आउने ग्राहकका लागि भनेर प्लट नै खाली राख्ने गरेका छन् । सीई कन्ष्ट्रक्शनका बिजनेश डेभलपमेण्ट म्यानेजर सुजन घिमिरेका अनुसार ठूलो प्लटमा घर बनाउँदा महँगो पर्ने भएकाले त्यस्तो घर खोज्नेले डिजाइन पनि आफ्नो चाहनाअनुसार राख्न चाहने सम्भावना बढी हुन्छ । त्यसैले, यस्ता घरहरू पहिले नै बनाएर नराखिने उनले बताए ।
उपत्यकामा घरजग्गा व्यवसाय घट्यो
उपत्यकामा घरजग्गा व्यवसाय घटेको छ । उपत्यकाबाट गत आर्थिक वर्ष (आव) २०७३/७४ को फागुन महीनासम्म ६ अर्ब ६६ करोड ६९ लाख रुपैयाँ रजिष्ट्रेशन शुल्क उठेकोमा चालू आव २०७४/७५ को सोही अवधिमा घटेर ५ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ मात्र उठेको भूमिसूधार तथा व्यवस्थापन विभागको तथ्याङ्कमा उल्लेख छ । गत आवको ८ महीना (फागुनसम्म)को तुलनामा चालू आवको सोही अवधिमा ७९ करोड २१ लाख रुपैयाँ रजिष्ट्रेशन शुल्क कम उठेको हो ।
किन घट्यो घरजग्गा खरीदविक्री ?
विभिन्न शहरमा खेतीयोग्य जमीन प्लटिङ गर्ने क्रम बढेको भन्दै गत साउन २६ गते सरकारले खेतीयोग्य जमीनको प्लटिङ रोक्न एउटा जग्गा वर्षमा एकपटक मात्र कित्ताकाट गर्न पाउने व्यवस्था गरेको थियो । त्यस्तो व्यवस्थाले संविधानमा भएको सम्पत्तिसम्बन्धी अधिकार हनन भएको दाबी गर्दै अधिवक्ता जगदीश आचार्यले सर्वोच्चमा रीट निवेदन दायर गरेका थिए । सर्वोच्चले सरकारको निर्णयले सम्पत्तिसम्बन्धी हकमा आघात पुगेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि भूमिसुधार मन्त्री तथा सचिवले सो आदेशलाई फुकुवा गर्न माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । मन्त्रीद्वारा दायर निवेदनमा जग्गाको अन्तिम स्वामित्व सरकारको हुने अन्तरराष्ट्रिय प्रचलन नै भएको उल्लेख गर्दै सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेश खारेज गरी सरकारी निर्णय कार्यान्वयनका लागि बाटो खोलिदिन आग्रह गरिएको थियो । सर्वोच्चले माघमा सरकारी निर्णयकै पक्षमा फैसला गरेको छ । साउन २६ गते सरकारले गरेको निर्णय कार्यान्वयन भइरहेकाले चालू आवमा जग्गा खरीदविक्रीमा कमी आएको सम्बन्धित व्यवसायीको भनाइ छ । सरकारी निर्णयका कारण अहिले बैङ्कहरूले घरजग्गा खरीदका लागि कम दरमै ऋण दिइरहे पनि कारोबार भने बढ्न नसकेको घरजग्गा एजेण्ट सङ्घ नेपाल (रियान)का केन्द्रीय अध्यक्ष ईश्वरप्रसाद खरेलको भनाइ छ ।