ए–लेभल |
नेपालमै अन्तरराष्ट्रियस्तरको ए–लेभल कोर्स उपलब्ध हुन थालेपछि विद्यार्थी र अभिभावक निश्चिन्त हुन थालेका छन् । ‘१६ वर्षे छोरीलाई विदेशमा पढाउने उनको बुबाको रहर र छोरीको अन्तरराष्ट्रिय डिग्रीको चाहनाले धेरै पिरोलेकी थिएँ,’ नेपालगञ्जकी कल्पना अधिकारीले भनिन् । उनको चिन्ता छोरीलाई एक्लै विदेशमा कसरी पठाउने र बिरामी भए कसले हेर्ला भन्ने थियो ।
कीर्तिपुरका रमेश महर्जन पनि किशोरावस्थाको छोरा विदेशमा बरालिएला वा कुसङ्गतमा लाग्ला कि भन्ने चिन्ताले ग्रस्त थिए । तर, अधिकारी र महर्जन त्यतिबेला ढुक्क भए, जब नेपालमै अन्तरराष्ट्रिय मान्यताप्राप्त ए लेभलको पढाइ हुन्छ भनेर । किशोरावस्थाका छोराछोरीलाई आफ्नो परिवारसँग बसालेर अन्तरराष्ट्रियस्तरको अध्ययन गराउन पाएपछि धेरै अभिभावक निर्धक्क भएका छन् ।
कतिपय विद्यार्थी प्रवेशिका परीक्षा (अहिलेको एईई) दिएर ‘नेपालमा गुणस्तरीय शिक्षा छैन’ भन्दै भारतलगायत अन्य मुलुक जाने गर्छन् । तर, क्याम्ब्रिज विश्वविद्यालयको ए–लेभल कार्यक्रम नेपालमा त्यस्ता विद्यार्थीलाई रोक्ने राम्रो विकल्पको रूपमा स्थापित हुन थालेको छ ।
विदेशका विश्वविद्यालय असाध्यै राम्रा भनेर हामी विद्यार्थीलाई अध्ययनका लागि पठाउँछांै । तर, कतिपय त्यस्ता विश्वविद्यालयले अन्तरराष्ट्रिय रूपमा मान्यता नपाएको पछि मात्र थाहा हुन्छ । तर, क्याम्ब्रिज विश्वविद्यालयको ए–लेभलले अन्तरराष्ट्रिय रूपमै मान्यता पाएको छ । विगत ६ दशकदेखि विश्वभरका १ सय ७० भन्दा बढी देशमा यो कोर्सको पढाइ चलिरहेको छ ।
स्वदेशमै पढ्न चाहनेका लागि पनि उपयुक्त
यसमा विषयको छनोट र परीक्षा प्रणाली एकदमै सहज छ । विद्यार्थी सुहाउँदो कोर्सको निर्माण गरिएको एस इण्टरनेशनल बिजनेश स्कूलका निर्देशक आशिष तिवारी बताउँछन् । ‘विज्ञानको एउटा र मानविकीको अर्को विषय सँगै लिएर पनि पढ्न पाइन्छ,’ उनले भने, ‘त्यसैले धेरै विद्यार्थीले यसलाई मन पराएका छन् ।’ ए–लेभलको परीक्षा दिन पनि सहज छ । एकपटकमा एउटा मात्र विषयको परीक्षा दिन पनि सकिन्छ । ६÷६ महीनामा परीक्षा दिन चाहेमा त्यो पनि गर्न सकिन्छ । सबै विषयको परीक्षा दिएर उत्तीर्ण भएपछि आफ्नो ग्रेड सुधार्ने चाहना भए पुनः परीक्षा दिन पाइन्छ । विभिन्न कोणबाट ए–लेभलमा विद्यार्थीको मूल्याङ्कन गर्ने तरीका पनि विशिष्ट रहेको तिवारीको भनाइ छ । विद्यार्थीको उत्तरपुस्तिकाको मूल्याङ्कन राउण्ड टेबलमा बसेर गरिन्छ । परीक्षाका लागि २ वर्षअगाडि नै प्रश्नपत्र यसरी तयार गरिएको हुुन्छ । ए–लेभल कोर्सको प्रश्न दोहोरिने सम्भावना शून्यबराबर हुन्छ । यसको परीक्षामा ग्रेडिङ प्रणाली छ, जुन प्रतिशत प्रणालीभन्दा उत्तम छ । कुनै विद्यार्थीले उच्च माध्यमिक शिक्षामा ९० प्रतिशत ल्यायो भने हाम्रो सन्दर्भमा यो नतीजा एकदमै उत्कृष्ट हो । तर, विदेशी संस्थाले यो ९० प्रतिशत राम्रो हो भनेर मान्ने आधार छैन । कहीँको ९० प्रतिशत उत्कृष्ट अङ्क हुन सक्छ भने कहीँ ७० प्रतिशत नै उत्कृष्ट हुन सक्छ । तर, ग्रेडिङ सिष्टममा ‘ए’ ग्रेड भनेको सबैभन्दा माथिल्लो तह हो भन्ने बुझ्न कठिन हुँदैन । ‘ए’ ग्रेड पाउने विद्यार्थी उत्कृष्ट १०–१२ प्रतिशतमा प¥यो भन्ने स्वतः थाहा हुने जानकारहरू बताउँछन् । त्यसैले, नेपालमै बसेर गुणस्तरीय शिक्षा लिन चाहने विद्यार्थीका लागि ए–लेभल उपयुक्त विकल्प बन्न सक्छ ।
विदेश जान सजिलो
ए लेभलको कोर्स विदेश जानकै लागि पढ्नुपर्छ भन्ने धारणा गलत रहेको एस इण्टरनेशनलका निर्देशक तिवारीको भनाइ छ । तर, यो अन्तरराष्ट्रियस्तरको कोर्स भएकाले विदेश जान चाहनेका लागि भने यो कोर्स पढ्दा सहज हुन्छ । ए–लेभलमा हरेक विषयको गहिराइमा गएर अध्ययन गराइने र सैद्धान्तिकभन्दा व्यावहारिक ज्ञानलाई प्राथमिकता दिइने उनले बताए । यो कोर्स अध्ययन गरेका विद्यार्थीको बुझाइको स्तर अन्य विषय पढेका विद्यार्थीको तुलनामा उच्च रहने उनको दाबी छ । ‘ए–लेभलमा सबै विषयलाई सहज रूपमा अध्यापन गराइन्छ,’ उनले भ ने, ‘यसले विद्यार्थीको बौद्धिक विकासमा पनि उत्तिकै सहयोग मिल्छ ।’
छनोट धेरै
ए–लेभलको विज्ञान समूहमा फिजिक्स, केमेष्ट्री, बायोलोजी र म्याथम्याटिक्सजस्ता विषय अध्यापन हुन्छ । व्यवस्थापनमा एकाउण्टेन्सी, बिजनेश स्टडिज, अर्थशास्त्र, कम्प्युटरलगायत विषय छन् । समाजशास्त्र, साइकोलोजी, अर्थशास्त्र, पत्रकारिता, आर्ट एण्ड डिजाइनिङ आदि ननसाइन्स समूहमा पनि अध्यापन हुन्छ । विद्यार्थीले एउटा समूहमा मात्र सीमित भएर विषय छनोट गर्नुपर्ने बाध्यता पनि छैन । विज्ञानको एउटा र मानविकीको अर्को विषय लिएर पनि पढ्न पाइन्छ ।
सबैको पहु“चमा पुग्न जरुरी
नेपालमा ए–लेभल कार्यक्रम सञ्चालनले विद्यार्थी स्वदेश तथा विदेशका नयाँ अवसरमा सहभागी हुन थालेका छन् । विद्यार्थीले विदेशमा गएर खर्च गर्नेभन्दा कम शुल्कमा नेपालमै ए–लेभल अध्ययनको वातावरण बनेको छ । यस्ता संस्थाको विकासका लागि सबै पक्षले ध्यान दिनुपर्छ । ए–लेभल अहिले धेरैको पहुँचमा आएको तिवारीको भनाइ छ । यो कोर्स प्लस टूभन्दा केही महँगो भए पनि धेरै महँगो नभएको उनले बताए । नेपालमा यो कार्यक्रमअन्तर्गत अध्ययन गर्न भर्नाबापत ५०–६० हजारदेखि १ लाखसम्म रुपैयाँ तथा मासिक शुल्क १० हजारदेखि १५ हजार रुपैयाँसम्म लाग्ने सम्बन्धित शिक्षण संस्थाहरूले बताएका छन् ।
ए–लेभल कार्यक्रमका लागि नेपालमा धेरै लगानी भइसकेको र भइरहेको छ । सबैले खर्च भएअनुसारको परिणाम दिन सक्नुपर्ने सम्बन्धित क्षेत्रका सरोकारवालाको भनाइ छ । अहिले आर्थिक हैसियत धेरै ठूलो नभएकाहरूले पनि ए–लेभल पढ्न पाउने वातावरण बनाउन छात्रवृत्तिको व्यवस्था गर्र्न सकिन्छ । यसका लागि सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुसार काम गर्नुपर्छ । विभिन्न स्कूलबाट सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्न सकिन्छ । जेहेनदार तर शुल्क तिर्न नसक्ने विद्यार्थीलाई कलेजले छात्रवृत्ति पनि दिँदै आएका छन् । ए–लेभल अध्ययन गराउने सबै कलेजले कुल शुल्कको १० प्रतिशत रकम यस्ता विद्यार्थीका लागि छुट्ट्याउँदै आएको बताइएको छ । ब्रिटिश काउन्सिलले पनि ए–लेभल पढाउने संस्था र विद्यार्थीबाट धेरै पैसा लिने गरेको छ । त्यहाँबाट पनि नेपालका केही विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिदिन अनुरोध गर्न सकिने शिक्षण संस्थाहरू बताउँछन् । काठमाडांैबाहिर पनि ए–लेभल स्कूलहरू खुल्ने क्रम शुरू भएको छ । यसलाई अझ व्यापक बनाउनुपर्ने आवश्यकता छ ।