बढदोे अटोबजार | नेपाली बजारमा सवारीसाधनको सङ्ख्या करीब ३० लाख
नेपालमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीको बजार फराकिलो बन्दै गएको छ । भारत र तेस्रो मुलुकमा उत्पादित आधुनिक गाडी अहिले नेपाली बजारमा सजिलै उपलब्ध हुन थालेका छन् । हुण्डाई, टाटा, सुजुकी, टोयटा, होण्डा, टीभीएस, यामाहा, हिरो, बजाज, स्कोडालगायत विश्वचर्चित ब्राण्डले यहाँको बजार र उपभोक्ताको माग पूरा गरेका छन् । बजारमा गाडीका नयाँ–नयाँ मोडल भित्रिएअनुरूप उपभोक्ताको माग र रोजाइ पनि फेरिँदै गएको छ । नयाँ मोडलका कार तथा मोटरसाइकल किन्ने सङ्ख्या दिनहुँ बढ्दै गएको अटोमोबाइल क्षेत्रका व्यवसायी बताउँछन् ।
आर्थिक वर्ष २०७४÷७५ को माघ मसान्तसम्ममा नेपाली बजारमा सवारीसाधनको सङ्ख्या करीब ३० लाख पुगिसकेको छ । विश्व बजारमा हरेक दिन भित्रिएका नयाँ मोडलका गाडी नेपालसम्म आउने क्रम जारी छ । त्यसले पनि अटोमोबाइलको बजार फराकिलो बनाउँदै लगेको छ । मूल्यका हिसाबले १२ लाखदेखि २ करोड रुपैयाँसम्मका सुविधाजनक गाडी पनि नेपाली बजारमा आइसकेका छन् । त्यस्तै, १ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मका बाइक पाइन्छन् । हरेक वर्ष अटो व्यवसाय करीब २० प्रतिशत बढिरहेको छ । गाडी विक्रेता कम्पनीले विभिन्न पर्व, उत्सव तथा महोत्सवमा ल्याउने योजनाले यो व्यवसायलाई थप विस्तार गरेको छ ।
सङ्घीयतास“गै बजार बढ्दै
देश अब तीन चरणको निर्वाचनपश्चात् सङ्घीयतामा गइसकेको छ । देश सङ्घीयतामा गएसँगै पूर्वाधार निर्माणले अझै गति लिने भएकाले अटोबजार थप विस्तार हुने व्यवसायीको भनाइ छ । विक्री बढेपछि देशका विभिन्न स्थानमा डिलरहरू खुल्ने र अटोबजार विस्तार हुने उनीहरूको भनाइ छ । विदेशी लगानीकर्ताका साथै विश्व बैङ्क र एशियाली विकास बैङ्कले पनि लगानी बढाइरहेका छन् । अहिले एयरपोर्ट, बाटो, खानी, जलविद्युत्लगायत क्षेत्रको निर्माणले गति लिएको छ । विकास निर्माणले तीव्रता लिएसँगै अटोबजार पनि फस्टाउने व्यवसायीको अपेक्षा छ ।
अटोलोनको सीमा ६५ प्रतिशतमा
नेपाल राष्ट्र बैङ्कले चालू आव २०७४÷७५ को मौद्रिक नीति जारी गरेपछि ६५ प्रतिशतसम्म अटोलोन दिन पाउने व्यवस्था गरेको छ । यसअघि सवारीसाधनलाई अनुत्पादक क्षेत्र भन्दै अटोलोनमा ५० प्रतिशतको सीमा कायम गरेको थियो, जस कारण गत आवको दोस्रो ६ महीना अटोबजारमा नराम्रो असर प¥यो । आव २०७४÷७५ को यो नीति आएपछि सवारीसाधन किन्दा पर्ने मूल्यको ३५ प्रतिशत रकम मात्र डाउनपेमेण्ट गरे पुग्छ ।
सवारीसाधनको विक्री २९ प्रतिशत बढी
बजारले ६ महीना राम्रो गति लिँदा पनि अघिल्लो आव २०७२÷७३ मा आव २०७३÷७४ मा सवारीसाधनको विक्री बढेको छ । हालै मात्र यातायात व्यवस्था विभागले सार्वजनिक गरेको गत आवकोे तथ्याङ्कले नेपालमा निजी सवारीसाधनको दर्ता बढ्दै गएको देखाएको छ । नेपालमा आव २०७२÷७३ मा ३ लाख ४३ हजार ७ सय ६५ ओटा सवारीसाधन भित्रिएका थिए । त्यस्तै, अघिल्लो आव २०७३÷७४ मा सबै प्रकारका गरी ४ लाख ४४ हजार २ सय ५९ ओटा सवारीसाधनको आयात भएको थियो । यो सङ्ख्या आव २०७२÷७३ कोे भन्दा २९ दशमलव २३ प्रतिशत बढी हो । नेपालमा भइरहेको तीव्र शहरीकरण, सडक पूर्वाधारको विकास आदिले पनि अटोबजारको भविष्य उज्ज्वल देखिन्छ । २ वर्षअघिको भूकम्प, त्यसपछिको नाकाबन्दी, सवारी कर्जामा कडाइ गर्नेखालको राष्ट्र बैङ्कको मौद्रिक नीतिलगायत कारणले बजारमा केही असर परेको थियो । यद्यपि, व्यवसायीको मागलाई दृष्टिगत गरी गत असार अन्तिममा आएको आव २०७४÷७५ को मौद्रिक नीतिले यसमा केही सहज भएको छ । अहिले नेपालमा भइरहेको तीव्र शहरीकरण, सडक पूर्वाधारको विकास आदिले आगामी दिन अटोबजार बढ्ने व्यवसायीको आशा छ ।
मोटरसाइकलको विक्री सबैभन्दा धेरै
नेपालमा आयात भएका सवारीसाधनमा सबैभन्दा ठूलो हिस्सा मोटरसाइकलको छ । यातायात व्यवस्था विभागको तथ्याङ्कअनुसार गत आवमा ३ लाख ५४ हजार ७१ ओटा मोटरसाइकल भित्रिएका थिए । मोटरसाइकलपछि साना सवारीसाधनको हिस्सा दोस्रो स्थानमा छ । बैङ्क तथा वित्तीय संस्थाले सवारीसाधन कर्जा साढे ६ प्रतिशत ब्याजदरमा दिने गरेका थिए । कर्जा सस्तो भएकाले साना सवारीसाधन किन्नेहरू बढेका हुन् ।
सवारीसाधनमा ‘इम्बोष्ड नम्बर प्लेट’को शुरुआत
नेपालमा लामो समयदेखि चर्चामा रहेको इम्बोष्ड नम्बर प्लेट भदौ पहिलो सातादेखि कार्यान्वयनमा आएको छ । यसको कार्यान्वयन भएपछि यातायातमा नयाँ आयाम थपिएको छ । यातायात व्यवस्था विभागका अनुसार सरकारी सवारीसाधनमा पहिलो नम्बर प्लेट ०१०१ नम्बरबाट शुरू भएको छ । नम्बर प्लेटमा तीनओटा अक्षर तथा चारओटा अङ्क हुनेछन् ।
२० वर्षे सवारीसाधन सञ्चालनमा रोक
गत चैत १ गतेदेखि सार्वजनिक सडकमा २० वर्ष पुराना सवारीसाधन चलाउन नपाउने निर्णय गरिएको थियो । २० वर्ष पुराना सवारीसाधनका कारण वायु प्रदूषण र सवारी दुर्घटनासमेत बढ्न थालेपछि सरकारले चैतदेखि हटाउने निर्णय गरिएको हो । विभागले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ संशोधन गरी गत चैतदेखि देशभरबाट २० वर्ष पुराना सवारीसाधन हटाएको छ ।
यातायात व्यवस्था विभागमा दर्ता भएका सवारीको विवरण
आर्थिक वर्ष बस कार, जीप र भ्यान माइक्रो टेम्पो मोटरसाइकल ई–रिक्सा
२०६९÷७० ३२६३ ९५९५ १५८ ५७ १७५३८१
२०७०÷७१ २७७६ ११३७२ १७८ १७ १६३९४५
२०७१÷७२ ३७३७ १३५६० ९३२ १५४१ १९६३८३
२०७२÷७३ ४३५३ २८३६१ ११३७ २६१३ २६७४३९ ११८९४
२०७३÷७४ ५३४२ २१२९२ ८४१ १७७८२ ३५४०७१ २२४७
२०७४÷७५ (साउनदेखि माघसम्मको) १६९१ ७६५१ ४८९ १००७६ १८३२१७ ६१३१
स्रोत ः यातायात व्यवस्था विभाग