इसेवाको अध्यक्षमा अनुभवी बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त

इसेवाको अध्यक्षमा अनुभवी बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त
काठमाडौँ । इसेवाको अध्यक्षमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएको छ । बैंक तथा वित्तीय क्षेत्रमा अत्यन्तै सफल मानिएका कुवँरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो । 
 
नवनियुक्त अध्यक्ष कुवँरले बुधबार नेपाल राष्ट्रबैंक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिएका छन्  । 
 
बैंकिङ्ग क्षेत्रमा करिब साढेतीन दशक लामो अनुभव भएका कुँवरले सन् १९८६ देखि तत्कालिन ग्रिण्डलेज ( हाल स्टाण्डर्ड चाटर्ड ) बैंक लिमिटेडबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेको थियो । त्यसपछि उनले नेपाल बैंक र सिटिजन्स् बैंक इन्टरनेशनलमा वरिष्ठ पदमा कार्यरत हुँदै बैंक अफ एशिया, जनता बैंक र ग्लोबल आइएमइ बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सफलता पुर्वक निर्वाह गरि सकेका छन् । 
 
सन् २०२० को जुलाईमा मा ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकास लिएका उनले पछिल्ला दिनमा बैंक तथा वित्तीय क्षेत्रका विभिन्न तहका कर्मचारीहरूलाई कर्जा र जोखिम सम्बन्धी  तालिम प्रदान गर्दै आएको छ । 
 
इसेवामा अध्यक्षको रूपमा आफ्नो कार्यभार संहाल्दै नवनियुक्त अध्यक्ष कुवँरले भने, ‘ डिजिटल भुक्तानीको क्षेत्रलाई अगाडी बढाउन इसेवाले नेतृत्वदायी भूमिका निभाउँदै आएको छ ।  डिजिटल भुक्तानीको क्षेत्रमा पायोनियर मानिएको इसेवामा आबद्ध हुन पाउँदा म निकै नै खुशी छ । मैले इसेवाको कर्पोरेट गभर्नेन्स्, रणनीतिक मुल्य र कम्प्लायन्स्को क्षेत्रमा आफ्ना अनुभव सेयर गर्दै कम्पनीलाई अझ धेरै उचाइमा पुर्याउन भूमिका खेल्नेछु ’ । 
 
स्थापनाकालदेखि नै प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेर इसेवालाई आजको दिनसम्म ल्याइ पुर्याउन सफल भएका र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा अत्यन्तै महत्वपूर्ण योगदान दिएका अस्गर अलीलाई कम्पनीले विशेष धन्यवाद दिएको छ । अलि पछिल्लो समय इसेवाको बोर्ड अध्यक्षका रूपमा रहेको थियो । बोर्ड अध्यक्षबाट उनले दिएको राजीनामा कम्पनीको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ । 
 
इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा बैंक खातामा पठाउन सकिन्छ । 
 
मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ६० लाख बढि रहेको  छ । हाल इसेवाका देशभर करिब एक लाख ५० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । 
No comment yet. Be the first one to comment.