पर्यटन बोर्डका सदस्य शेर्पा कोरियन अल्पाइन फेडेरेशनको नेपाल कार्यालयको अध्यक्ष नियुक्त

पर्यटन बोर्डका सदस्य शेर्पा कोरियन अल्पाइन फेडेरेशनको नेपाल कार्यालयको अध्यक्ष नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डका सदस्य तथा पर्यटन व्यवसायी ङावा ङिमा शेपालार्ई कोरियन सरकारले कोरियन अल्पाइन फेडेरेशनको नेपालस्थित लियजन अफिसको अध्यक्षका रुपमा नियुक्त गरेको छ । 

कोरियाको राजधानी सियोलमा आयोजित फेडेरेशनको ६० औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा शेर्पालाई नेपालको सम्पर्क कार्यालयको अध्यक्षको प्रमाणपत्र प्रदान गरिएको हो ।कोरियाका पूर्वराष्ट्रपति मुन जे उनकै पालामा उनको सरकाले नेपालको लियजन अफिसको प्रेसिडेन्ट बनाउने निर्णय गरे पनि कोभिड महामारीका कारण दुई वर्षपछि शेर्पालाई यो प्रमाणपत्र दिइएको हो । 

सियोलमा आयोजित कार्यक्रममा कोरियन अल्पाइन फेडरेशनका अध्यक्ष डा. सोन जुङ होले शेर्पालाई प्रमाणपत्र हस्तान्तरण गरेका  थिए। सो कार्यक्रममा शेर्पा दम्पति ङावा ङिमा शेर्पा र राजेश्वरी शेपालाई सम्मान गरिएको थियो । सन् १९९५ देखि कोरियन पर्यटक तथा पर्वतारोहीसँग काम गर्दै आएका  शेर्पाले अब नेपालस्थित सम्पर्क कार्यालयको अध्यक्षको हैसियतमा कोरियाबाट नेपाल आउने पर्वतारोहीहरुको समन्वय र सम्पर्क लगायतको काम गर्नेछन् । 

सम्मानपछि शेर्पाले कोरियनबाट प्राप्त जिम्मेवारी र सम्मान सम्पूर्ण नेपाल र नेपालीप्रति गरिएको सम्मान भएको बताए । उनले नेपालमा कोरियन पर्यटक भित्र्याउन आफूले सक्दो पहल गर्ने समेत बताए। कोरियनलाई नेपालमा सेवा र सहयोग गरेकोमा उत्कृष्ट कार्य सम्पादनबापत कोरियाको देइजोन नगरपालिकाले सफल कार्य सम्पादन सम्मान २०१८ बाट सम्मान गरेको थियो ।

अल्पाइन फेडेरेशनको नेपालस्थित लियजन कार्यालयमा हिमाल चढ्न जाने आरोहीले पनि अनुमति लिएर अन्य प्रक्रिया सुरु हुनेछ । यस्तै नेपालबाट खेलकुदका कार्यक्रम लिएर नेपाली टोली कोरिया जाने क्रममा पनि सोही कार्यालयमा समन्वय गर्नुपर्ने शेर्पाले जानकारी दिए । कोरियन अल्पाइन फेडरेशनले कोरिया सरकारको खेलकुद र पर्वतारोहण सम्बन्धी अधिकांश कामको अनुमति दिने सरकारी एजेन्सीका रुपमा काम गर्छ । 

कोरियन पर्यटकहरु लक्षित सोरा ट्राभल्स एण्ड टुर्स र सियोल जीब कोरियन रेष्टुरेन्टका सञ्चालकसमेत रहेका शेर्पाले कोरियाबाट नेपाल आउने उच्चस्तरीय प्रतिनिधिमण्डलको समन्वय गर्दै आएका छन्। यस्तै सोरा एड्भन्चर ट्रेक्स एण्ड एस्पिडिसनका सञ्चालक शेर्पा सन् २०१९ देखि सियोल नेशनल युनिभर्सिटीको नेपाल प्रतिनिधि समेत हुन् । 

 

 

No comment yet. Be the first one to comment.