आइएमई फाउन्डेसनद्वारा छात्रवृत्ति आह्वान

आइएमई फाउन्डेसनद्वारा छात्रवृत्ति आह्वान
काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ जीएमई कोरियाको सहकार्यमा आइएमई फाउन्डेसनले कोरियास्थित जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ विषयमा स्नाकोत्तर अध्ययनका लागि छात्रवृत्ति आह्वान गरेको छ।
 
फाउन्डेसनले पुस २८ गते सूचना प्रकाशित गर्दै एक महिनाको समय राखी दरखास्त आह्वान गरेको छ।
 
जम्मा दुई जनालाई प्रदान गरिने उक्त छात्रवृत्तिअन्तर्गत प्रतिव्यक्ति वार्षिक १० हजार अमेरिकी डलरका दरले छात्रवृत्ति रकम प्रदान गरिने फाउन्डेसनले जनाएको छ। सफ्टवेयर इन्जिनियरिङ विषयमा कम्तिमा स्नातक उत्तीर्ण इच्छुक जोकोहीले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन्। कोरियामा अध्ययनरत रहँदा जीएमई कोरियामा स–शुल्क इन्टर्नसीपको अवसर प्राप्त हुने फाउन्डेसनले जनाएको छ। अध्ययनको समाप्तिपछि कम्तीमा दुई वर्ष जीएमई कोरियामा पूर्णकालीन आवद्व हुनुपर्ने बताइएको छ।
 
यसका अतिरिक्त कोरियामा स्नातकोत्तर अध्ययन गर्ने छात्रछात्राहरूलाई प्राध्यापकहरूसँग ल्याबमा काम गर्ने अवसरसमेत प्राप्त हुने सम्भावना रहन्छ। रितपूर्वक प्राप्त हुन आएका आवेदकहरूमध्येबाट छनोटमा परेकालाई अन्तर्वार्ताको अवसर प्रदान गरिनेछ। छनोटमा परेका छात्रछात्राले सम्बन्धित निकायबाट लिनुपर्ने इजाजत स्वयं आफै लिनुपर्नेछ। पढाइमा अब्बल, नेतृत्व क्षमता एवं अतिरिक्त क्रियाकलापमा विशेक्ष रूचि राख्ने आवेदकलाई उच्च प्राथमिकता दिइने कार्यक्रम संयोजक राजु पौडेलले जानकारी दिए।
 
उनका अनुसार छात्रवृत्तिसँग सम्बन्धित संघसंस्थाहरूबाट कम्तीमा एक–एकजनाको प्रतिनिधित्व हुनेगरी कम्तीमा पाँच सदस्यीय छात्रवृत्ति छनोट समिति गठन गरिनेछ र यससम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार सोही समितिमा निहित हुनेछ।
No comment yet. Be the first one to comment.