कोरोनाको नयाँ भेरियन्टको नाम ओमिक्रोन, खोपले काम नगर्नेमा वैज्ञानिकहरु चिन्तित

कोरोनाको नयाँ भेरियन्टको नाम ओमिक्रोन, खोपले काम नगर्नेमा वैज्ञानिकहरु चिन्तित

काठमाडौं । विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा पत्ता लागेको कोरोना भाइरसको नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’ राखेको छ ।

विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा हालै फेला परेको कोभिड-१९ को नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’ राखेको हो । संगठनले ओमिक्रोन ‘चिन्ताजनक भेरियन्ट’ समेत भनेको छ ।

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ भेरिएन्ट देखापरेको छ । यो भेरिएन्टलाई बी.१.१.५२९ नाम दिइएको छ । मंगलबार पुष्टि भएको नयाँ भेरिएन्ट तीव्र गतिमा उत्परिवर्तित भएको बताइएको छ । वैज्ञानिकहरूले कोभिडविरुद्ध हालसम्म बनेका खोप नयाँ भेरिएन्टविरुद्ध प्रभावकारी नहुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरिएन्ट पत्ता लागेसँगै सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलगायत सबै नाकाका हेस्थ डेस्कलाई सतर्क अवस्थामा राखेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा कृष्णप्रसाद पौडेलले भने, ‘दक्षिण अफ्रिकाबाट आउनेहरूको हेल्थ डेस्कमा परीक्षण, सिक्वेसन्सिङ र क्वारेन्टाइन गर्नसमेत भनिएको छ ।’

दक्षिण अफ्रिकाको ‘द नेसनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिज (एनआईसीडी)’ द्वारा बिहीबार जारी सूचनाअनुसार नयाँ भेरिएन्ट गत सोमबार पत्ता लागेको हो । जिनोमिक सिक्वेन्सिङ गर्दा हालसम्म त्यहाँ २२ नमुनामा नयाँ भेरिएन्ट देखिएको छ । नयाँ भेरिएन्ट नोभेम्बर १४ देखि २३ नोभेम्बरसम्म संकलन गरिएको नमुनामा देखिएको बताइएको छ । 

एनआईसीडीका कार्यकारी निर्देशक प्रा। एड्रियन पुरेनले भनेका छन्, ‘तथ्यांक सीमित छ तर हाम्रा विज्ञ नयाँ भेरिएन्टको सम्भावित प्रभाव के–के हुन सक्छन् भनेर बुझ्न सबै प्रणालीसँग मिलेर काम गरिरहेका छन् । तर यसको विकास तीव्र गतिमा भइरहेको देखिन्छ ।’

समाचारअनुसार ‘बि.१.१.५२९’ समेत भनिने ओमिक्रोन भेरियन्टको उत्परिवर्तन संख्या धेरै र पुन: संक्रमण हुने जोमिख बढी रहेको छ । हालसम्म ओमिक्रोन भेरियन्ट दक्षिण अफ्रिकासहित बेल्जियम, इजरायल, बोत्स्वाना र हङकङमा फेला परिसकेको छ ।

नयाँ भेरियन्ट पत्ता लागेको समाचार बाहिर आएलगत्तै युरोपेली युनियन र बेलायतले दक्षिण अफ्रिकी मुलुकबाट हुने हवाई यात्रामा प्रतिबन्ध लगाएका छन् । त्यस्तै, अमेरिकाले समेत दक्षिण अफ्रिकासहित अन्य मुलुकबाट हुने हवाई यात्रामाथि प्रतिबन्ध लगाउने भएको छ ।

भारतले समेत दक्षिण अफ्रिका, बोत्स्वाना र हङकङबाट आउने यात्रुको कडा स्क्रिनिङ र परीक्षण गरिने बताएको छ । तर ओमिक्रोनको पहिचानपछि अन्तर्राष्ट्रिय प्रतिक्रियाप्रति दक्षिण अफ्रिकाले असहमति जनाएको छ ।

शुक्रबार दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्री जो फाहलाले हवाइ यात्रामाथि प्रतिबन्ध लगाउने विभिन्न मुलुकको कदमलाई ‘गलत’ भन्दै निन्दा गरेका छन् । साझा समस्यासँग जुध्न विश्व नेताहरूले बलीको बोको खोजिरहेको उनको आरोप थियो ।

No comment yet. Be the first one to comment.