पुनर्निर्माण प्राधिकरण विघटन गरिदैं, बाँकी काम भोलिदेखि मन्त्रालयका जिम्मामा

पुनर्निर्माण प्राधिकरण विघटन गरिदैं, बाँकी काम भोलिदेखि मन्त्रालयका जिम्मामा
काठमाडौं । पुननिर्माण प्राधिकरण विघटनको प्रक्रियामा अघि बढेको छ । भोलि बुधबारदेखि प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणसँग सम्बन्धित बाँकी कामहरू विषयगत मन्त्रालय, सम्बन्धित विभाग र निकायलाई हस्तान्तरण गर्न शुरु गर्ने भएको छ ।
 
सरकारले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमार्फत प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणको चरणमा बाँकी रहेका निजी आवास अनुदान वितरणको कार्य सम्वत् २०७८ मंसीरभित्र सम्पन्न गर्ने र बाँकी रहेका कामहरू विषयगत मन्त्रलयमा हस्तान्तरण गर्ने घोषणा गरेको थियो ।
 
प्रधानमन्त्री एवम् प्राधिकरणको निर्देशक समितिका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा भदौ ९ गते बसेको निर्देशक समितिको २० औं बैठकले निजी आवास लगायतका कार्यहरुको हस्तान्तरण सुरु गर्ने निर्णय गरेको थियो ।
 
त्यसैअनुसार बुधबार शिक्षा विभाग, शहरी विकास विभाग र स्थानीय पूर्वाधार विभागलाई प्राधिकरणले काम शरु हुन र सम्पन्न हुन बाँकी आयोजनाहरुको जिम्मेवारी हस्तान्तरण गर्न लागेको हो । त्यसका लागि प्राधिकरणमा बुधबार दिउँसो एक औपचारिक कार्यक्रम नै आयोजना गरिएको  छ ।
 
सरकारले पुस १० गतेपछि प्राधिकरण नै खारेज गर्ने तयारी गरेअनुसार बाँकी रहेका काम सम्बन्धित विषयगत मन्त्रालयअन्तरगतका विभागलाई जिम्मा लगाउन लागिएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।
 
निजी आवास तथा बस्ती विकासतर्फको वित्तीय एवम् प्राविधिक व्यवस्थापनको कार्य सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले हेर्नेछ । विभागले सरकारी एवं सार्वजनिक भवन, स्वास्थ्य संस्था र हाल केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) मार्फत सञ्चालित गुम्बाहरुको पुनर्निर्माणको जिम्मेवारी पनि लिनेछ ।
 
विद्यालय तथा विश्वविद्यालयका भवन पुनर्निर्माणका कामहरु शिक्षा मन्त्रालय र शिक्षा विकास तथा समन्वय इकाईहरुबाट सम्पादन हुनेछन् ।
 
सडक तथा पुलहरु एवं शहरी विकास मन्त्रालय तथा पुरातत्व विभागले हेर्ने बाहेकका गुम्वाहरुको पुर्ननिर्माण गुम्वा व्यवस्थापन समितिको समन्वयमा स्थानीय पूर्वाधार विभागले गर्नेछ ।
 
‘अब पुनर्निर्माण प्राधिकरणले ती विभागसम्बद्ध आयोजनामा सहजीकारण मात्रै गर्छ,’ ती अधिकारीले भने,’आवश्यक पर्दा अनुगमन र मूल्यांकन पनि हुनसक्छ ।
 
No comment yet. Be the first one to comment.