नयाँ बिमा कम्पनीलाई लाइसेन्स दिने तयारी गर्दै बिमा समिति

नयाँ बिमा कम्पनीलाई लाइसेन्स दिने तयारी गर्दै बिमा समिति
काठमाडौं । बिमा समितिले नयाँ बिमा कम्पनीहरुलाई लाइसेन्स दिने तयारी गरेको छ । समितिले ३–३ वटा जीवन र निर्जीवन बिमा कम्पनीलाई लाइसेन्स दिने तयारी गरेको हो । बिमा समितिका एक अधिकारीका अनुसार जीवन बिमा कम्पनीलाई लाइसेन्स दिने प्रक्रियामा सहमतिका लागि अर्थ मन्त्रालयमा ३ कम्पनीको नाम पठाइसकेको छ । अर्थ मन्त्रालयले सहमति दिएमा ३ जीवन बिमा कम्पनीले लाइसेन्स पाउने भएका छन् ।
 
जीवन बिमा कम्पनीलाई लाइसेन्स दिनको लागि अर्थ मन्त्रालयबाट स्वीकृत लिनुपर्ने भए पनि निर्जिवन बिमा कम्पनीलाई लाइसेन्स दिन भने अर्थको सहमति लिनु पर्दैन । समितिले नै निर्णय गर्न सक्नेछ । ती अधिकारीका अनुसार जीवन बिमातर्फ शुभ लाइफ इन्सुरेन्स, स्ट्यान्डर्ड लाइफ इन्सुरेन्स र युनी लाइफ इन्सुरलाई लाइसेन्स दिन लागिएको हो ।

त्यस्तै, निर्जीवन बिमा कम्पनीमा अभियान जनरल इन्सुरेन्स, मनकामना इन्सुरेन्स र शुभ जनरल इन्सुरेन्सलाई लाइसेन्स दिने तयारी भइरहेको छ । बिमा समितिले आवश्यक अध्ययन बिना नै ६ वटा बिमा कम्पनीलाई सञ्चालन अनुमति दिन लागेको हो । यसअघि बिमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंले एकैपटक १३ वटा बिमा कम्पनीलाई सञ्चालन अनुमति दिएका थिए ।

त्यस बेला पनि समितिले पर्याप्त अध्ययनबिना नै नयाँ बिमा कम्पनीलाई सञ्चालन अनुमति दिएको भन्दै चौतर्फीरुपमा आलोचना भएको थियो । एकैचोटी १३ वटा बिमा कम्पनीलाई सञ्चालन अनुमति दिंदा पुराना कम्पनीका अगाडि नयाँ कम्पनीले बजार बिस्तार गर्न सक्दैनन् भन्ने टिकाटिप्पणी भएको थियो । तथापि, ती बिमा कम्पनीहरुले पछिल्लो समय आक्रामक रुपमा बजार विस्तार गरेका छन् ।
 
त्यति बेला सञ्चालन अनुमति पाएका धेरै कम्पनीहरुले सर्वसाधरणलाई आइपीओ निष्कासन गरेर नेप्सेमा सूचीकृत भइसकेका छन् भने केही कम्पनीहरु आइपीओ निष्कासनको तयारीमा रहेका छन् । नयाँ बिमा कम्पनीको आइपीओमा पनि लगानीकर्ताको आकर्षण बढ्दो रहेको छ । 
No comment yet. Be the first one to comment.