पुरानो घर खरीदगर्दा यस्ता कुरामा ध्यान दिन नभुलौं

पुरानो घर खरीदगर्दा यस्ता कुरामा ध्यान दिन नभुलौं
घरको मूल्यमा गिरावट आएको समयलाई धेरै मानिसले पुरानो घर खरीद गर्ने उपयुक्त अवसर सम्झन्छन् । घरको मूल्यमा जति कमी आउँछ, उत्ति नै बढी मानिसहरू घर खरीद गर्न खोजिरहेका हुन्छन् । किनकि, जीवनभर दुːख गरेर बचत गरेको रकम खर्च गरी आफ्नै घरमा बस्ने मानिसको सपना हुन्छ । त्यसलाई पूरा गर्न मूल्यमा कमी आएको बेला पुरानो घर खरीद गर्दा उनीहरूलाई सजिलो हुन्छ । धेरै पुराना घरहरू त ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण हुन्छन् । तर, यस्ता घर खरीद गर्नुअघि केही महत्वपूर्ण कुरामा ध्यान दिनु आवश्यक छ, नत्र पुरानो घर बलियो बनाउन र सिँगार्न धेरै खर्च लाग्न सक्छ । यो खरीदकर्ताका लागि तनावको विषय बन्न पुग्छ । त्यसैले, पुरानो घर खरीद गर्दै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस् ː
 
घरको जग 
 
पुरानो घरसँग जहिले पनि त्यसको जग जोडिएर आउँछ । किनकि, पुरानो घरको जग पुनː हाल्नुपरेमा अति खर्चिलो हुन्छ । त्यसैले, पुरानो घर खरीद गर्दै हुनुहुन्छ भने त्यसको जगबारे सबभन्दा पहिला जानकारी लिनुहोस् । घरमा जग नै सबैभन्दा महत्वपूर्ण पक्ष हो । शयन कक्ष वा बैठक कक्षलाई शुरूमै बढी प्राथमिकता नदिनुहोस् । जग बलियो छ वा कमजोर त्यसलाई परीक्षण गर्नुहोस् । कमजोर जग भएको घरले अन्य समस्या पनि सृजना गर्न सक्छ । त्यसैले, तपार्इं रहनुभएको ठाउँमा ‘घर परीक्षण सेवा’ उपलब्ध छ भने त्यसको प्रयोग गर्न सक्नुहुन्छ । यस्तो सेवा उपलब्ध गराउने संस्थाले जग बलियो भए–नभएको सहजै पत्ता लगाई तपार्इंलाई निर्णय गर्न सघाउँछ । तपार्इंले रोज्नुभएको घर भत्किन लागेको वा अन्य समस्या रहेको भेट्नुभयो भने त्यसलाई छाडेर अर्को पुुरानो घरको खोजीमा लाग्दा राम्रो हुन्छ ।
 
विद्युतीय वायरिङ 
 
पुरानो घर खरीद गर्दा त्यसमा जोडिएको विद्युतीय वायरिङ प्रणाली के–कति पुरानो वा नयाँ हो ध्यान दिनुपर्छ । धेरै पुराना घरहरूमा अझै पनि विद्युतीय वायरिङ प्रणाली पुरानै हुन्छ । यसले काम त गर्छ, तर आगलागीको सम्भावना (जोखीम) उच्च हुन्छ । त्यसैले, पुरानो ढङ्गको वायरिङ प्रणाली जडान गरिएको घर खरीद गर्दा यसलाई अद्यावधिक गर्न लाग्ने खर्चबारे पनि तपाईंले सोच्नु आवश्यक छ । किनकि, घर खरीद गरेपछि वायरिङ प्रणालीलाई तपाईंले अद्यावधिक गर्नैपर्ने हुन्छ, जुन खर्चिलो छ ।
 
प्लम्बिङ 
 
अधिकांश पुराना घरमा फलामबाट बनेका खिया लाग्ने पाइप जडान गरिएको हुन्छ । यस्ता पाइपमा खिइने र चुहावटको समस्या हुन्छ । यसकारण त्यस्ता पाइपलाई तपाईंले ढिलोचाँडो विस्थापन गर्नुपर्ने हुन्छ । त्यसैले, जग निरीक्षण गर्दा नै पाइपले ठीकसँग काम गरेको छ÷छैन परीक्षण गर्नुपर्छ । कतिपय पाइपमा त खनिज पदार्थ जम्मा भएर थोरै मात्र पानी निस्कने गर्छ । यी पुराना पाइपलाई विस्थापन गर्न गाह्रो हुन्छ । तपार्इं यस्तै घर खरीद गर्दै हुनुहुन्छ भने यसमा लाग्ने खर्चलाई ध्यान दिनुहोस् । 
 
तापक्रम∕न्यानोपन  
 
विशेषगरी जाडोको समयमा घरलाई न्यानो राख्नलाई विभिन्न (हीटर, एसी) उपकरणको प्रयोग गरिन्छ । तर, यी खर्चिला हुन्छन् । यी उपकरण सञ्चालन गर्न विद्युत्को अभावमा पेट्रोलियम पदार्थको प्रयोग गर्नुपर्छ । त्यसैले, पुरानो घर खरीद गर्दा यिनका लागि आवश्यक खर्चबारे हिसाब गर्दा राम्रो हुन्छ । त्यस्तै, ती उपकरण कति पुराना हुन्, अझै कति समय धान्न सक्छ भन्ने जस्ता विषयमा ध्यान दिनुपर्छ । यस्ता उपकरण फेर्नुपरेमा धेरै खर्च लाग्छ । 
 
छानो
 
घरको छानोलाई पुनː छाप्नु वा बनाउनु खर्चालु काममध्ये एक हो । त्यसैले, छानो र गारोसँगको जडानमा चुहावट छ∕छैन भनेर ध्यान दिनुपर्छ । छानो १५ वर्षभन्दा पुरानो छ भने तपाईंले खरीद गरेपछि ढिलोचाँडो फेर्नुपर्ने हुन्छ । त्यसैले, यसमा लाग्ने खर्चको पनि हेक्का राख्दा राम्रो हुन्छ । 
 
पुरानो घर खरीद गर्दा तपाईंलाई बेफाइदा र भार मात्र पर्दैन । यसका फाइदा पनि छन् । पुराना घर पनि दीर्घकालसम्म मजबूत रहने गरी निर्माण गरिएका हुन्छन् । गुणस्तरीय निर्माण सामग्री र उत्कृष्ट कला र शिल्पले सजाइएका हुन्छन् । पुराना तर सुन्दर काठको प्रयोग गरिएको हुन्छ । उत्तिकै राम्रा झ्याल–ढोका र न्यायो अगेनोको व्यवस्था गरिएको हुन्छ । त्यसैले, पुराना घर खरीद गर्न नडराउनुहोस् ।
 
No comment yet. Be the first one to comment.