प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, खगराज गृहमन्त्री, सञ्चारमा बादलपत्नी नैनकला

प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, खगराज गृहमन्त्री, सञ्चारमा बादलपत्नी नैनकला
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाइएका छन् ।
 
प्रधानमन्त्रीले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेपनि रक्षा मन्त्रालय भने आफैसँग राखेका छन् । 
 
राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको गत वैशाख ३१ गठित मौजुदा मन्त्रिपरिषदमै नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 
यससँगै ओली नेतृत्वको मन्त्रिपरिषद् राज्यमन्त्रीसहित २५ सदस्यीय बनेको छ । 
 
ओलीको २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन जना उपप्रधानमन्त्री रहेका छन् । जसमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, राजेन्द्र महतो सहरी विकास, रघुवीर महासेठ परराष्ट्र मन्त्री रहेका छन् । 
 
यसैगरी खगराज अधिकारी गृह मन्त्री बनेका छन् भने शरदसिंह भण्डारी ऊर्जा तथा जलस्रोत, कृष्ण गोपाल श्रेष्ठ शिक्षा, अनिल कुमार झा खानेपानी, शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री कायम भएका छन् ।
 
यस्तै राजकिशोर यादव उद्योगमन्त्री बनेका छन् भने लक्ष्मणलाल कर्ण भूमि व्यवस्था तथा सहकारी, बसन्त कुमार नेम्वाङ भौतिक पूर्वाधार, लिलानाथ श्रेष्ठ कानुन मन्त्रीमा कायम हुँदा पुर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नी नैनकला थापा सञ्चारमन्त्री बनेकी छिन् ।
 
यस्तै ज्वाला कुमारी साह कृषि, विमल प्रसाद श्रीवास्तव श्रम रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया संस्कृति पर्यटन तथा नागरिक उड्ययन, चन्दा चौधरी महिला तथा बालबालिका, एकवाल मिया युवा तथा खेलकुद मन्त्रीमा कायम हुँदा नारदमुनि राना वन मन्त्री बनेका छन् । 
 
यस्तै गणेश कुमार पहाडी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्दा मोहन बानिया प्रधानमन्त्री कार्यालय हेर्नेगरी मन्त्री बनेका छन् । 
 
यस्तै राज्यमन्त्रीहरुमा चन्द्रकान्त चौधरी (ऊर्जा), रेणुका गुरुङ (महिला तथा बालबालिका) र आशाकुमारी विक (वन) रहेका छन् । 
 
गृहमा खगराज
 
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरेका छन् । २०७४ मा कास्कीबाट निर्वाचित खगराज सुरुमा एमाले संसदीय दलको सचेतक र केही समय प्रमुख सचेतक रहे । तर नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि उनको जिम्मेवारी खोसिएको थियो ।
 
तर प्रधानमन्त्री ओलीको पक्षमा उनी संसदमा विपक्षीमाथि खरो ढंगले प्रश्न उठाउँथे । सरकार, संसद र पार्टीमा जिम्मेवारी नदिएपछि उनले असन्तुष्टि जनाउँदै आएका थिए । 
 
 
 
No comment yet. Be the first one to comment.