नेपालमा कालो ढुसीको संक्रमण बढ्दो, कस्ता व्यक्ति जोखिममा ?

नेपालमा कालो ढुसीको संक्रमण बढ्दो, कस्ता व्यक्ति जोखिममा ?
 
भारतमा कोरोना संत्रमणबाट निको भएका कैयन बिरामीहरुको कालो ढुसीको संक्रमणका कारण मृत्यु भएका खबर आइरहँदा नेपालमा पनि कालो ढुुसीको संक्रमणका मामलाहरु उल्लेख्य रुपमा देखिन थालेका छन् । नेपालमा अहिलेसम्म झन्डै एक दर्जन मानिसमा कालो ढुसीको संक्रमण पुष्टी भएको छ ।
 
झण्डै एकसाता अगाडि नेपालमा तीनचार जनामा मात्र उक्त संक्रमण देखिएकोमा अहिले बढेको जनाइएको छ । वीरगन्ज, नेपालगन्ज र काठमाडौंका लगायत ठाउँका अस्पतालबाट कालो ढुसीको सङ्क्रमणका विवरणहरू आएका हुन्।
 
कोरोना संक्रमण भएका बिरामीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात् कालो ढुसीको सङ्क्रमण नेपालमा पनि देखा परेपछि चिन्ता बढेको छ ।
 
के हो कालो ढुसी ?  कस्ता व्यक्ति जोखिममा ?
 
कोरोना संक्रमणबाट सिकिस्त भएकाहरुमा रोग प्रतिरोधात्मक प्रणाली कमजोर हुने वैज्ञानिकहरुको विश्वास छ । यस्तो अवस्थामा अन्य कुनै दीर्घरोगका कारण खासगरी प्रतिरोधात्मक प्रणाली निकै कमजोर भएकाहरुमा कोरोना संक्रमणपछि कोरोनाबाट निको भइसकेपछि वा निको हुँदै गरेको अवस्थामा कालो ढुसी जस्ता अन्य संक्रमणको जोखिम बढी हुने स्वास्थ्यविदहरु बताउँछन् ।
 
वातावरणमा प्राकृतिक रूपमै पाइने एक प्रकारको ढुसी म्युकोरमाइसेटिसको सङ्क्रमणबाट म्यूकोर्माइकोसिस हुने जनाइएको छ । खास गरी यो ढुसी माटो, पातहरु, मल र जनावरको दिशामा पाइने तथा स्वास फेर्दा वा छालमा भएको कुनै घाउको सम्पर्कमा आउँदा मान्छेमा सर्ने गर्छ ।
 
साइनस र मष्तिष्क, फोक्सो, आन्द्रा, छाला लगायतमा संक्रमण हुने विभिन्न प्रकारका कालो ढुसीहरु रहेका छन् । फोक्सो र साइनसमा कालो ढुसी संक्रमण भएमा खोकी, ज्वरो, टाउको दुख्ने, छाती दुख्ने, नाक बुझिने, दुख्ने, स्वास फेर्न गाह्रो हुने जस्ता लक्षणहरु देखिन सक्छन् । त्यस्तै छालामा संक्रमण भएमा छालाको कोषहरु कालो हुने, रातो हुने वा सुन्निने, फोकाहरु उठ्ने, घाउ हुने जस्ता लक्षण देखिन सक्छन् ।
 
म्यूकोर्माइकोसिस मान्छेबाट मान्छेमा संक्रमण नहुने र ढुसीको सम्पर्कमा आएका सबैमा संक्रमण नहुने जनाइएको छ । यद्यपी प्रतिरक्षा प्रणाली असाध्यै कमजोर भएकाहरु यसको जोखिममा रहेका छन् । मधुमेह, क्यान्सर, एचआईभी, छालाको चोटपटक, सर्जरी गरेकाहरु यसको जोखिममा हुन्छन् ।
 
चिकित्सकहरुले कालो ढुसीको उपचार एन्टीफंगल औषधीहरु चलाएर गर्न सक्छन् । साथै ढुसी संक्रमण भएको स्थानको शल्यकृया समेत गर्नुपर्ने हुनसक्छ । यदि उपचार नगरी बसेको खण्डमा भने निकै घातक हुने र मृत्युदर ५४ प्रतिशतसम्म हुने सीडीसीले जनाएको छ ।
 
भारतमा झण्डै ३ करोड भन्दा बढी व्यक्ति मधुमेहबाट पीडित भएको तथ्यांक रहेको छ । कोरोनाको महामारीभन्दा अगाडि पनि भारतमा कालो ढुसीको संक्रमण थियो तर निकै कम थियो । यद्यपी बढ्दो अवस्थामा नै रहेको थियो । महामारी सुरु भएपछि भने भारतमा कालो ढुसीको संक्रमण नाटकीय रुपमा बढेको हो । सामान्यतया विगत २ बर्षमा देखिएको कालो ढुसीको संक्रमणभन्दा बढी संक्रमण विगत एकसातामा देखिएको छ ।
 
स्टेरोइडबाट कोरोना संक्रमणको उपचार गर्दा शरीरको प्रतिरक्षा प्रणाली दबिने भएकाले पनि कालो ढुसीको संक्रमण दर बढेको हुनसक्ने स्वास्थ्यविदहरुको भनाई छ । बेलायतको युनिभर्सिटी अफ नोटिंघममा संक्रमण प्रतिरक्षामा सहायक प्राध्यापक डाक्टर क्रिस्टोफर कोलम्यानले स्टेरोइडले सामान्य प्रतिरक्षा प्रणालीलाई दबाएर राख्दा ढुसीलाई हस्तक्षेप गर्ने वातावरण बनेको हुनसक्ने बताउँछन् ।
 
त्यस्तै अक्सिजन दिनुपर्ने अवस्थामा रहेका संक्रमितहरुको सन्दर्भमा नेजल क्याभिटीको मृत्यु भएको हुनसक्ने भएकाले यो अवस्थामा अन्य संक्रमणको जोखिम हुने डाक्टर कोलम्यानको भनाई छ ।
 
कालो ढुसीको उपचार एन्टीफंगल औषधीहरुमार्फत गर्न सकिने सीडीसीले जनाएको छ । यी औषधीहरु सलाइन वा मुखबाट दिन सकिन्छ । तर चिकित्सकको परामर्शविना औषधीको प्रयोग गर्नु हुँदैन ।
 
रोकथामका लागि एड्भाइजरी जारी
 
नाक, कान, घाँटीसम्बन्धी नेपालका विशेषज्ञ चिकित्सकहरूको संगठनले मन्त्रालयसँगको समन्वयमा यसको रोकथाम र व्यवस्थापनसम्बन्धी एड्भाइजरी जारी गरिसकेको संगठनका महासचिव एवं शिक्षण अस्पताल महाराजगञ्जका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा योगेन्द्र न्यौपानेले जानकारी दिए ।
 
‘कालो ढुसी के हो ? यसका लक्षणहरु के–के हुन् ?, कस्ता बिरामीहरुमा यसको संक्रमण देखिन्छ ? यसको पहिचान कसरी गर्ने ?, सचेतना अपनाउन के–के गर्न सकिन्छ ?, यसबाट कसरी बच्न सकिन्छ ?, उपचार विधिहरु के–के हुन् ? प्रयोग गरिने औषधिहरु के–के हुन् ?’ भन्नेबारे हेल्थ वर्करहरुलाई सुझाव दिनका लागि एडभाइजरी जारी गरिएको डा. न्यौपाने बताउँछन् ।
 
 
 
No comment yet. Be the first one to comment.