निरन्तर ४ दिनको वृद्धिपछि नेप्सेमा सामान्य करेक्सन, ८ अर्ब ८० करोडको कारोबार

निरन्तर ४ दिनको वृद्धिपछि नेप्सेमा सामान्य करेक्सन, ८ अर्ब ८० करोडको कारोबार
काठमाडौं । निरन्तर ४ कारोबार दिनको वृद्धिपछि, आइतबार नेप्सेमा सामान्य करेक्सन देखिएको छ । अघिल्लो साताको बिहीबारदेखि उकालो लागेको नेप्से, यस दिन भने घटेको हो ।
 
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३५.८९ अंक घटेर २६९९.५१ विन्दुमा झरेको छ । पछिल्लो ४ कारोबार दिनमा नेप्से ६३.८४ अंक बढेको थियो । सोही वृद्धिको फाइदा उठाउन अल्पकालिन लगानीकर्ताहरुले प्रोफिट बुक गर्दा यस दिन नेप्सेमा करेक्सन देखिएको हो। यस दिन सेन्सेटिभ इण्डेक्स ६.२९ अंक घटेर ४८६.१६ विन्दुमा झरेको छ ।
 
नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकम भने केही बढेको छ। गत साताको अन्तिम कारोबार दिन ८ अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २०७ कम्पनीको ९३ हजार ५६८ पटकको कारोबारमा ८ अर्ब ८० करोड १८ लाख ३ हजार रुपैयाँ बराबरको १ करोड ९५ लाख २८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
 
यस दिन बजारमा करेक्सन देखिएपनि ३ कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आइतबार महिला लघुवित्त वित्तीय संस्था, ज्योति लाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, यस दिन नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएका गुडविल फाइनान्सको शेयरमूल्य भने यस दिन ५ प्रतिशतभन्दा बढी घटेको छ ।
 
आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको छ । यस दिन सो उपसमूहको परिसूचक ०.४६ प्रतिशत बढेको हो। व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.२७ प्रतिशत घटेको छ। त्यसैगरी, होटल तथा पर्यटन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
 
कारोबार रकमका आधारमा यस दिन एभरेष्ट बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन ८७ करोड ६२ लाख ९९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको ५५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
 
 
No comment yet. Be the first one to comment.