प्रधानमन्त्रीको चीन भ्रमण : द्विपक्षीय सहयोगमा हस्ताक्षर, उच्चस्तरीय भेटवार्ता
काठमाडौँ । भ्रमणका लागि बेइजिङ पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आज राष्ट्रपति, प्रधानमन्त्री र चिनियाँ जनकांग्रेसका अध्यक्षसँग भेटवार्ता गर्नेछन्।
प्रधानमन्त्री ओलीले आज सुरुमा चीनका प्रधानमन्त्री ली छ्याङसँग भेटवार्ता गर्नेछन् । त्यसपछि चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यी भेटवार्तापछि प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नेछन् । ‘ग्रेट हल अफ पिपल’मा हुने भेटवार्तापछि द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने पनि कार्यक्रम रहेको छ।
चिनियाँ जनमुक्ति सेनाको ‘गार्ड अफ अनर’सहित प्रधानमन्त्री ओलीलाई चिनियाँ नेतृत्वले ‘ग्रेट हल अफ द पिपुल’मा स्वागत गर्ने बताइएको छ।
प्रधानमन्त्री ओली समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा गएका थिए।