भारत र चीनबाट पर्यटक भित्र्याउन ‘नेपाल इन्डिया चाइना एक्सपो’ गरिँदै
काठमाडौं । नेपालको पर्यटन राजधानी पोखरामा अवस्थित पोखरा इभेन्ट सेन्टरमा नेपाल इन्डिया चाइना एक्सपो (नाईस २०२५) कार्यक्रम आयोजना गरिने भएको छ । उक्त कार्यक्रम आगामी वर्ष २०२५काे फेब्रुअरी २४ देखि २६सम्म हुनेछ ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड, उद्योग तथा पर्यटन मन्त्रालय (गण्डकी प्रदेश), पोखरा महानगरपालिका, पोखरा टुरिजम काउन्सिल र अन्य प्रमुख पर्यटन संघसंस्था र सरकारी एवं निजी क्षेत्रका विभिन्न साझेदार संस्थाहरूसँगको सहकार्य र सहयोगमा उक्त कार्यक्रम आयोजना गर्न लागिएकाे हाे ।
पाटा नेपाल च्याप्टर,नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्ले संयुक्त रूपमा पोखराको लेकसाइडमा अवस्थितमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको सभा हलमा पत्रकार सम्मेलन आयोजना गरी नाइस २०२५को घोषणा गरेका हुन् ।
नाइस २०२५ का संयोजक र पाटा नेपाल च्याप्टरका कार्यसमिति सदस्य सुनील भट्टराईले पर्यटन क्षेत्रका सबै सरोकारवालालाई सक्रिय सहकार्य र समर्थनको लागि निमन्त्रणा गर्दै भने,”विश्व पर्यटन इतिहासमै पहिलो पटक तीन वटा मुलुक समावेश भई आयोजना गरिने “नाईस” सम्भवतः पहिलो पर्यटन मेला हुनेछ, जुन नेपालको पर्यटन प्रवर्धन तथा विकासका लागि सबैभन्दा महत्वपूर्ण निकट छिमेकी पर्यटन स्रोतबजार (चीन र भारत)बाट पर्यटन सम्बद्ध व्यवसायी र निजी तथा सरकारी निकायका सरोकारवालाहरु एवम् संघ संस्थाहरुलाई एकै थलोमा आमन्त्रण गरी आपसी व्यापार प्रवद्र्धन, सम्पर्क सञ्जाल विस्तार, तथा त्रिदेशीय पर्यटनको नयाँ आयामहरु उजागर गराउन प्रेरणा प्रदान गर्ने महत्वपूर्ण मञ्च बन्ने हामीले विश्वास गरेका छौँ ।”
कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नाइस २०२५ नेपालकै पर्यटन राजधानी पोखरामा आयोजना हुन लागेकोमा आफ्नो खुशी र गर्व व्यक्त गरे। उनले नाइस २०२५ पोखरामा हालसम्मकै सबैभन्दा ठूलो कार्यक्रम हुने उल्लेख गर्दै यसले पोखराको पर्यटनलाई उल्लेखनीय रूपमा प्रवर्द्धन गर्ने र यस क्षेत्रलाई ठूलो प्रचार दिने बताए ।
विशेष अतिथि तथा नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पर्यटन बोर्ड र पाटा नेपालले पहिलो पटक विभिन्न स्थानीय, राष्ट्रिय तथा क्षेत्रीय संघसंस्थाहरुसँग मिलेर त्रिदेशीय एक्स्पो (नाइस २०२५) आयोजना गर्ने घोषणा गर्न पाउँदा आफु अत्यन्त उत्साहित भएको बताए ।
पाटा नेपाल च्याप्टरका सीईओ सुरेशसिंह बडालले नाइस २०२५ सम्बन्धी प्रस्तुतिकरण बारे अद्यावधिक जानकारी प्रस्तुत गर्दै यस ऐतिहासिक एक्स्पोमो १०० भन्दा बढी क्रेताहरु,८० भन्दा बढी बिक्रेताहरु, चीन र भारतका २५ भन्दा बढी सञ्चारकर्मी र विज्ञ वक्ताहरु लगायत पर्यटनसँग सम्बद्ध स्थानीय संघसंस्था, सरकारी निकाय, सञ्चारकर्मी तथा सरोकारवाला गरी १००० भन्दा बढी सहभागिहरु तथा अतिथिहरुको सहभागिता हुने अपेक्षा रहेको बताए ।
नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयका प्रमुख नविन पोखरेलले स्वागत मन्तव्य दिँदै नाइस २०२५को महत्त्वमा प्रकाश पारे ।
कार्यक्रमका सभापति तथा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले सहभागी सबैलाई धन्यवाद दिँदै पोखरा पर्यटन समुदायको सहयोग र सहकार्यले नाइस २०२५ लाई पोखराका लागि विशेष र प्रभावकारी कार्यक्रम बनाउने प्रतिबद्धता व्यक्त गरे।
“नाईस फर माईस एण्ड मोर” भन्ने नाराका साथ आयोजना हुने यो ऐतिहासिक कार्यक्रमले पोखरालाई पदयात्रा र साहसिक पर्यटनको केन्द्रको रूपमा मात्र नभई माईस पर्यटन (अर्थात् बैठक, सभा सम्मेलन, प्रोत्साहन, बिवाह तथा अन्य उत्सव, महोत्सव, समारोह, मेला र प्रदर्शनीहरूका लागि )आकर्षक गन्तब्यको रुपमा प्रवर्धन गर्ने लगायत मनोरञ्जन र नेपालको पर्यटन क्षेत्रका नयाँ आयामहरूलाई प्रवर्धन गर्नुका साथै पोखरालाई “नेपालको पर्यटन राजधानी” तथा घुम्नैपर्ने प्रमुख गन्तव्यको रुपमा परिचित गराउने उद्धेश्य राखेको छ ।