नेपाल डीपी लिमिटेड र लुम्बिनी लायन्सबीच साझेदारी
काठमाडौं । नेपाल डीपी लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) २०८१ को लागि लुम्बिनी लायन्स फ्रेन्चाइजसँग साझेदारी गरेको छ ।
नेपाल डीपीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अञ्जनराज पौड्याल र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर राजजंग थापाले सम्झौतामा हस्ताक्षर गरे ।
प्रायोजनको उद्देश्य नेपाली क्रिकेटलाई प्रवर्द्धन गर्नुका साथै विशेष गरी युवा पुस्ता एवं नेपाली जनमानसमा सेयर मार्केटको बारेमा जनचेतना सिर्जना गर्नु हो ।
नेपाल डीपीले यसको प्रवर्द्धक स्टक ब्रोकिङ कम्पनीहरूको सहयोगमा एक वित्तीय साक्षरता छलफल कार्यक्रम आयोजना गर्ने र एनपीएलको अवधिमा आफ्ना सेवामा विशेष योजना पनि घोषणा गर्ने जनाइएकाे छ ।
लुम्बिनी लायन्स फ्रेन्चाइजको नेतृत्व नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले गरेका छन् ।
एनपीएलमा आठ फ्रेन्चाइजहरू सहभागी हुनेछन् र लुम्बिनी लायन्सले २०८१ मंसिर १९ मा विराटनगर किङ्ससँग पहिलो खेल खेल्नेछ ।
शनिबारबाट सुरु भएको खेलमा विराटनगर किङ्स जनकपुर बाेल्ट्सद्वारा पराजित भएकाे थियाे ।
नेपाल डीपी लिमिटेड १० वटा स्टक ब्रोकिङ कम्पनीहरूले प्रवर्द्धन गरेको पब्लिक कम्पनी हो ।