राष्ट्र बैंकले ‘पर्ख र हेर’को रणनीति अवलम्बन गर्यो, थप नीतिगत सहजता भएन : सीबीफीन
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत ‘पर्ख र हेर’को रणनीति अवलम्बन गरेको बताएको छ । परिसंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकबाट आगामी त्रैमासिक समीक्षा मार्फत थप सहज नीति र उपायहरु अवलम्बन गरिने अपेक्षा राखेको छ ।
मौद्रिक नीति, २०८१ ले लिएको मौजुदा कार्यदिशाबाट नै मूल्य स्थिरता तथा बाह्य क्षेत्रमा स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुर्याउने अपेक्षासहित जारी भएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा पर्ख र हेरको रणनीति अवलम्बन गरेको परिसंघले ठानेको छ ।
राष्ट्र बैंकको विशेष पहलका कारण अर्थतन्त्रका बाह्य सूचकहरुमा निरन्तर सकारात्मक सुधार आउँदै गरेको परिप्रेक्ष्यमा अर्थतन्त्रका आन्तरिक सूचकहरु भने झन शिथिल हुँदै गएको परिसंघको भनाई छ । समग्र आर्थिक, व्यवसायीक एवं बैंकिङ गतिविधिहरुलाई जीवन्त बनाउनका लागि मौद्रिक नीतिको समीक्षाहरुमार्फत समयानुकुलरुप थप नीतिगत सहजता हुनुपर्ने आवश्यकता बोध गरिएकोमा सो अनुरुप नभएको गुनासो पनि गरेको छ ।
मौद्रिक नीतिले अपनाएका नीतिगत व्यवस्थाहरु कार्यान्वयनबाट मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थायित्व कायम हुँदै गएको भए पनि बैंक तथा वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा एवं गैरबैंकिङ सम्पत्तिमा निरन्तररुपमा वृद्धि भइरहेको, अपेक्षाकृतरुपमा कर्जा लगानी हुन नसकेको तथा आर्थिक एवं बैंकिङ गतिविधिहरुले समेत गति लिन नसकिरहेको परिसंघले जनाएको छ ।
‘आन्तरिक मागमा कमी आइरहेको, सरकारले पुँजीगत खर्च गर्न नसकिरहेको र निजी क्षेत्रको मनोबल समेत खस्किरहेको वर्तमान परिस्थितिकावीच जारी भएको समीक्षाले मौद्रिक नीतिले लिएका लक्ष्यहरुको प्राप्ति र आर्थिक क्रियाकलापहरुले आशातीतरुपमा गति नलिने हो कि भन्ने चासो बढाएको छ,’ परिसंघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाहरुमा पर्याप्त तरलता रही न्यून ब्याजदर कायम भएको र सार्वभौम साख मूल्यांकनमा नेपालले हालैमात्र प्राप्त गरेको सन्तोषजक नतिजाले लगानी विस्तार, कर्जा प्रवाह तथा पुँजी परिचालनको लागि ठूलो अवसर सृजना भएको अनुकूल अवस्थालाई हृदयगंम गर्दै राष्ट्र बैंकबाट आगामी त्रैमासिक समीक्षा मार्फत थप सहज नीति र उपायहरु अवलम्बन गरिने विश्वास परिसंघको छ ।