काबेली करिडोर प्रसारण लाइन संचालनमा आयो, अब निर्माण सकिएका आयोजनाको विद्युत खेर नजाने |
काठमाडौं । काबेली करिडोर प्रशारण लाइन आयोजनाको दोस्रो खण्ड सञ्चालनमा आएसँगै निर्माण सकिएका आयोजनाको विद्युत खेर जान बाट जोगिएको छ ।
काबेली करिडोर निर्माणमा ढिलाई भएपछि हेवा १४.९ मेगावाटको हेवाखोला ’ए’ आयोजनाबाट उत्पादित विद्युत ३३ केभी क्षमताको अस्थायी प्रशारण लाइनबाट सवस्टेशनमा लगिएको थियो । सुख्खा याममा सबै विद्युत प्रसारण भएपनि वर्षायाममा भने अस्थायी लाइनबाट सबै विद्युत प्रवाह हुन नसकी खेर गइरहेको थियो ।
गोदक (इलाम) – फिदिम (पाँचथर) खण्ड मंगलबार साँझ ५ बजेबाट संचालनमा (चार्च) आएको छ । शनिबारबाट परीक्षण प्रसारण शुरु गरेकोमा गोदक–फिदिम खण्ड मंगलबार साँझ ५.२० मा र दमक–(लखनपुर, झापा) – फिदिम खण्ड साँझ ६.१० बजे बाट चार्च भएको छ ।
इलामको सोयाकबाट एउटा लाइन गोदक र अर्को लाइन लखनपुरतर्फ लगिएको छ । सोयाकबाट दुवै लाइन पाँचथरको फिदिमस्थिति थापाटार सबस्टेशनमा जोडिएको छ । ४२.८८ किलोमिटर लम्बाई भएको प्रशारण लाइनको दोस्रो खण्डमा १२६ वटा टावर छन् ।
लखनपुर–गोदक पहिलो खण्डको ३५ किलोमिटर प्रशारण लाइन २०७२ को असोजबाटै सञ्चालनमा आइसकेको छ । फिदिम–अमरपुर (पाँचथर) तेस्रो खण्डको निर्माण भने अगामी असारभित्रमा सम्पन्न गरी प्रशारण लाइन पूर्णरुपमा सञ्चालनमा ल्याइने बताइको छ ।
पाँचथर र ताप्लेजुङमा रहेका कावेली, हेवा, माई लगायतका खोलामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि कावेली करिडोर लाईन निर्माण गरिएको हो ।