संस्थागत सामाजिक उत्तरदायित्वमा विशेष योगदानका लागि ज्योति विकास बैंक सम्मानित
काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत उल्लेखनीय योगदान गर्दै नेपालका ५१ वटा ग्रामीण, दुर्गम र विभिन्न क्षेत्रका स्वास्थ्य संस्थाहरूमा ‘न्यानो नानी’ परियोजनामार्फत बेबी वार्मर मेसिनको पहुँच पुर्याएकोमा डा. महावीर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रले ज्योति विकास बैंक लिमिटेडलाई सम्मानित गरेको छ ।
बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष डा. पुनले बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई बैंकले पुर्याएको अतुलनीय योगदानप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै विशेष सम्मान पत्र प्रदान गरे ।
विगत ४ वर्ष देखि निरन्तर चलिरहेको ‘न्यानो नानी’ परियोजनामार्फत राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित न्यानो नानी बेबी वार्मर मेसिनहरू निर्माण तथा आवश्यकता भएका स्वास्थ्य केन्द्रहरूमा जडानका लागि बैंकले वित्तीय सहयोग र बैंकका शाखा कार्यालयहरूको पहल र सहकार्यमा हालसम्म ५१ वटा बेबी वार्मर मेसिन जडान गरिसकेको छ ।
देशका थुप्रै ग्रामीण क्षेत्रका स्वास्थ्य केन्द्रहरूमा बच्चाहरूलाई न्यानो राख्न परम्परागत शैलीमा कोइला र काठ जलाउने जस्ता उपायहरू अपनाइन्छन्, जसले बालबालिकाको स्वास्थ्यलाई थप हानी पुर्याउने जोखिम बढाउँछ । नेपालको स्वास्थ्य परिवेश, विशेष गरी दुर्गम क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र सोको कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेकाले उक्त जोखिमलाई न्यूनीकरण गर्ने अत्यन्त संवेदनशील र महत्त्वपूर्ण उपकरण स्वास्थ्य संस्थाहरूमा प्रदान गर्ने यस परियोजनालाई बैंकले भविष्यमा समेत निरन्तरता प्रदान गर्ने जनाएको छ।
स्वास्थ्य र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ मान्यतालाई शिरोधार्य गर्दै विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहल मार्फत प्रदान गरिएका ५१ वटा बेबी वार्मर उपकरणहरूले हरेक वर्ष करिब १८८७ भन्दा बढी नेपाली शिशुहरूको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ । एउटा बेबी वार्मरले हरेक वर्ष ३७ वटा नवजात शिशुको जीवन रक्षा गर्नमा मद्दत गर्छ ।
बैंकले यस परियोजनामार्फत स्वास्थ्य क्षेत्रमा जीवनरक्षक उपकरण प्रदान गर्नुका साथै नेपालमै रहेका युवाहरूको सीपलाई उजागर गर्न र स्वदेशी उत्पादनलाई प्रवर्धन गर्ने जनाएको छ ।