प्रभु बैंकको नाफा ५८ प्रतिशतले बढ्यो |
काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको ९ महिनामा गत वर्षको तुलनामा ५८ प्रतिशतले नाफा बढाएको छ । बैंकले ९ महिनाको अवधिमा एक अर्ब ४५ करोड रुपैयाँ नाफा गरेको छ । गत वर्षको यहि अवधिमा ९१ करोड ७० लाख रुपैयाँ नाफा गरेको थियो ।
बैंकले खराब कर्जा सल्टाएर नेचुरल ग्रोथ गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए । बैंकले पूँजी वृद्धि योजनापछि शाखा विस्तारसँगै साना कर्जामा केन्द्रित हुँदा राम्रो नाफा गर्न सफल भएको शेरचनले बताए । उनले भने, ‘बैंकले साना निक्षेपकर्ता तथा ऋणीलाई होल्ड गराउन सफल हुँदा गत वर्षको भन्दा ५८ प्रतिशतले नाफा बढाउन सफल भएको हो ।’
बैंकले गत वर्षको तुलनामा ३५ प्रतिशतले व्याज आम्दानी बढाएको छ भने व्याज खर्च १७ प्रतिशत मात्रै बढेको छ । ९ महिनाको अवधिमा ८ अर्ब एक करोड रुपैयाँ व्याज आम्दानी गरेको छ भने व्याज खर्च चार अर्ब ६४ करोड रुपैयाँ छ ।
निक्षेप संकलन र ऋण लगानीमा सन्तुलन कायम गरेको बैंकले निक्षेप संकलन २२ प्रतिशलते बढाउँदा ऋण लगानी २१ प्रतिशतले वृद्धि गरेको छ । बैंकले ९ महिनाको अवधिमा एक खर्ब ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ८९ अर्ब ९३ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।
बैंकको आधार व्याजदर १.५५ प्रतिशतले घटेर ९.१६ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकको व्याजदर गणना विधि र गैर व्यावसायिक कर्जाको धेरै हुँदा आधार व्याजदर तुलनात्मक रुपमा घट्न सफल भएको बैंकले जनाएको छ । बैंकिङ तरलताको समस्या धेरै हुँदा अवका दिनमा बैंकले निक्षेप संकलन तथा ऋण लगानी भन्दा फरक क्षेत्रमा आफ्नो व्यवसाय केन्द्रित गरेको शेरचनले जानकारी दिए ।
आगामी दिनमा बैंकले शाखा विस्तारलाई ध्यान दिदै आफ्नो सेवाको क्षेत्र विस्तार गर्ने योजना बनाएको छ । धितोपत्र मूल्याङ्कनका आधामा मात्रै कर्जा प्रवाह गर्ने भन्दा पनि प्रोजेक्टका आधारमा कर्जालाई विस्तार गर्ने उनले बताए ।
बैंकले गत वर्षको१।४८ प्रतिशतले खराव कर्जा घटाउदै २.४२ प्रतिशतमा झारेको छ । गत वर्षको यहि अवधिमा बैंकको खराव कर्जा ३.९० प्रतिशत थियो । ०.४७ प्रतिशतले स्प्रेड दर बढ्दा बैंकको नाफामा उल्लेख्य सुधार भएको छ । चैत मसान्त सम्ममा बैंकको स्प्रेड दर ४।८८ प्रतिशत रहेको छ । अवको तीन महिनामा बैंकले उक्त स्प्रेडलाई ४.५ प्रतिशतमा झार्नु पर्नेछ ।
प्रतिशेयर आम्दानी ८ रुपैयाँले बढेर २३ रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पूँजी ८ अर्ब २३ करोड रुपैयाँ छ भने जगेडामा ५ अर्ब ७७ करोड रुपैयाँ जम्मा भएको छ ।