सिटिजन्स बैंक र एनसीएचएलबीच अलिपे+ मार्फत नेपाल पे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता
काठमाडौ । सिटिजन्स बैंक इन्टरनेशनल र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(NCHL)बीच बैंकका नेपाल पे मर्चेन्टहरुका क्यूआरमा अलिपे+काे नेटवर्कमा रहेका सदस्य वालेट र मोबाइल बैंकिङ्गहरु मार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने गरी सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता अन्तर्गत नेपालमा रहेका नेपाल पे क्यूआर तथा यसका इन्टराेपेरेबल क्यूआरको मर्चेन्ट क्यूआरमा अलिपे+को नेटवर्क मार्फत भुक्तानी गर्न सकिनेछ। चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका इन्टराेपेरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् । अलिपे+ को नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढि इसुइङ्ग उपकरण, ३०० भन्दा बढि अक्वायरिङ नेटवर्क, ९ करोड भन्दा बढि ग्लोबल मर्चेन्टहरु आबद्ध रहेका छन् । अलिपे+को नेटवर्कमा अलि पे चाइना, ओसीबीसी, चाङ्गीपे, जीक्याब, अलिपेएचके, हाइपे, ककाओपे, टसपे, नेभरपे, टीएनजीडी, पीबीबी, ट्रुमनी,एमपे, टिनाबा मार्फत अन्तरदेशीय भुक्तानीहरु गर्न सकिने व्यवस्था रहेको छ ।
एनसीएचएलले अलिपे+सँग इन्टरनेशनल पेमेण्ट पार्टनरका रुपमा आबद्ध भई दुइ नेटवर्कबीच भुक्तानी सुचारु गर्नका निम्ती आवश्यक व्यवस्था मिलाइसकेको छ । यस पहल अनुरुप अब सिटिजन्स बैंक इन्टरनेशनलसँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका निम्ती सम्झौता भएको हो । नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपाल क्यूआर मापदण्ड कार्यान्वयन गर्न, नेपाल पे क्यूआर एक स्वतन्त्र क्यूआर स्किमको रुपमा सञ्चालन हुनुका साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्न स्थापना भएको पूर्वधार हो। हाल नेपाल पे क्यूआरको नेटवर्कमा ८,५०,००० भन्दा बढि (Interoperable QR समेतका) मर्चेन्टहरु आबद्ध रहेका छन् ।
सिटिजन्स बैंककाे देशभर १९७ शाखाहरु, ३ वटा एक्सटेन्शन काउन्टर, ७४ वटा शाखा रहित बैंकिङ्ग र १६२ एटिएमहरु तथा १८ लाख भन्दा ग्राहकहरु रहेका छन् । बैंकले नेपाल पे क्यूआरमा १३ हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध गरिसकेको छ ।