नेपाल टेलिकमको प्रतिशेयर आम्दानीसँगै नाफा घट्यो
काठमाडौं । नेपाल टेलिकमको खुद नाफा १४.२ प्रतिशतले घटेको छ । टेलिकले चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ ।
यस्तो नाफा गत आर्थिक वर्षको यहीं अवधिमा २ अर्ब २ करोड ७४ लाख रुपैयाँ थियो । कम्पनीको खुद नाफा घट्नुको मुख्य कारण ब्याज आम्दानी ३३ प्रतिशत घट्नु देखिन्छ ।
बैंकहरुको घट्दो ब्याजदरको असर टेलिकमको आम्दानीमा परेको हो ।
वित्तीय आम्दानी पहिले १ अर्ब ७५ करोड रहेकोमा अहिले १ अर्ब १७ करोड छ । कम्पनीको बिक्री आम्दानी पहिले ८ अर्ब ५८ करोड रुपैयाँ रहेकोमा अहिले ८ अर्ब ६८ करोड छ । ब्याज आम्दानी घटेपछि कुल आम्दानी नै घटेको छ । यस्तो आम्दानी पहिले १० अर्ब ६४ करोड रहेकोमा अहिले १० अर्ब ६ करोडमा झरेको छ ।
नाफा घट्दा प्रतिसेयर आम्दानी खुम्चिएको छ । पहिले वार्षिक प्रतिसेयर आम्दानी ४५ रुपैयाँ रहेकोमा अहिले ३८ रुपैयाँ ६६ पैसामा झरेको छ । कम्पनीको जगेडा कोषमा ७८ अर्ब ३१ करोड रुपैयाँ सञ्चित छ । प्रतिसेयर नेटवर्थ ५३५ रुपैयाँ छ ।