बरुण हाइड्रोपावरले नाफा १ करोड ६० लाख
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले सो अवधिसम्ममा १ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी २ करोड ९ लाख रुपैयाँ नोक्सानीमा थियो। सो अवधिमा कम्पनीको हेवा खोला साना जलविद्युत आयोजनमा बाढीले क्षति पुर्याएका कारण कम्पनीले नोक्सानी व्यहोर्नु परेको थियो।
चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ३ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ। सो अवधिसम्ममा कम्पनीको कुल नाफा ३ करोड २३ लाख रुपैयाँ रहेको छ भने गैर सञ्चालन आम्दानी २१ लाख रुपैयाँ रहेको छ। त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा सो अवधिसम्ममा ३ करोड ११ लाख रुपैयाँ रहेको छ।
५३ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ८ करोड १५ लाख रुपैयाँ सञ्चित छ। असोज मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ९८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.१७ गुणा र प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ २३ पैसा रहेको छ।