डलरको भाउ हालसम्मकै महँगो
काठमाडौं । अमेरिकी डलर हालसम्मकै महँगो भएको छ। कात्तिक २० गते, मंगलबार १३४ रुपैयाँ ८९ पैसा पुगेर डलरको भाउले नयाँ रेकर्ड बनाएको छ।
यसअघि गत कात्तिक ७ गते अमेरिकी डलरको भाउ १३४ रुपैयाँ ८४ पैसासम्म पुगेको थियो। यस दिन सो रेकर्डलाई तोड्दै डलरको भाउले नयाँ रेकर्ड बनाएको हो। अब एक अमेरिकी डलर साट्न १३४ रुपैयाँ ८९ पैसा खर्च गर्नुपर्ने भएको छ।
सोमबार डलरको भाउ १३४ रुपैयाँ ८३ पैसा थियो। यस दिन ६ पैसाले भाउ बढेको हो।
अमेरिकी डलरको तुलनामा भारतीय रुपियाँ कमजोर बन्दा नेपाली रुपैयाँ समेत कमजोर भएको हो। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो।
डलरको भाउ महंगिदै जाँदा आयात भने झनै महँगो हुनेछ। आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ। यस्तै राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ।