सार्वजनिक यातायातलाई प्राधिकरण गठन गरेर व्यवस्थित गरिने, अब भाडा तिर्न स्मार्ट कार्ड |
काठमाडौं । सरकारले सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने घोषणा गरेको छ । सरकारको आर्थिक बर्ष २०७६∕०७७ को नीति तथा कार्यक्रम प्राधिकरण गठन गर्दै विद्युतीय सवारीसाधन संचालनमा प्रोत्साहन गर्ने उल्लेख छ ।
त्यसै गरि आगामी बर्षदेखि सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा भाडा तिर्नका लागि स्मार्ट कार्ड समेत प्रयोगमा ल्याउने भएको छ भने देशैभरि विद्युतीय चार्जिङ स्टेशनहरु निर्माण गर्ने भएको छ ।
अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपाल सिग्देलको संयोजकत्वमा प्राधिकरण गठन गर्नका लागि अध्ययन भइरहेको छ । सिन्डिकेट खारेजीलाई संस्थागत गर्न सरकारले अध्ययन समिति गठन गरेको थियो । समितिले अधिकार सम्पन्न प्राधिकरण बनाएर मात्रै संस्थागत गर्न सकिने सरकारलाई प्रतिवेदन दिएको थियो ।
सोही अनुरुप प्राधिकरण गठन गर्न मन्त्रीपरिषदले समेत स्वीकृति दिईसकेको छ । प्राधिकरणले पहिलो चरणमा काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित गर्नेछ । तीन विद्युतीय बस खरिद गरेर संचालन गर्नेछ । यहि महिनाबाट बस संचालन गर्ने सरकारको योजना भएपनि अहिलेसम्म बस खरिदको प्रकृया अघि बढ्न सकेको छैन ।