सरकारको नीति तथा कार्यक्रम आज संसदमा पेस हुँदै |
काठमाडौँ । सरकारको वार्षिक नीति तथा कार्यक्रम आज सङ्घीय संसदमा पेस गर्ने कार्यक्रम रहेको छ । नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को वैशाख १७ गतेको बैठकले अनुमोदन गरिसकेको छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम पेस गर्नेछिन् ।
संघीय संसद्को संयुक्त बैठकमा अपराह्न ४ बजे नीति कार्यक्रम पेस हुनेछ । वर्तमान सरकार गठन भएपछि दोस्रो पटक नीति तथा कार्यक्रम पेस गर्न लागेको हो । अघिल्लो वर्ष सङ्घीय संरचना अनुसार पहिलो पटक नीति तथा कार्यक्रम पेस भएको थियो ।
सरकारले नीति तथा कार्यक्रमको सेरोफेरोमा रहेर आर्थिक वर्ष २०७६∕०७७ को बजेट संसदमा पेस गर्नेछ । अघिल्ला वर्षहरूमा प्रि–बजेट छलफलपछि नीति तथा कार्यक्रम ल्याइने अभ्यास थियो । यो वर्ष प्रि–बजेट पहिले नै नीति तथा कार्यक्रम ल्याइन लागिएको हो ।
वैशाख २४ गते नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले जवाफ दिनेगरी सङ्घीय संसद् सचिवालयले कार्यतालिका बनाएको छ । सोही दिन नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ । नीति तथा कार्यक्रम पारित भएपछि मात्र प्रिबजेट पेस हुनेछ ।
नीति तथा कार्यक्रममा जवाफ दिएर प्रधानमन्त्री केपी शर्मा ओली भने भियतनाम भ्रमणमा जाने कार्यसूची छ । वैशाख २६ गतेदेखि जेठ १ गतेसम्म प्रधानमन्त्री भ्रमणमा रहनेछन्।् । वैशाख ३१ सम्म प्रि–बजेट छलफल समेत सक्ने सचिवालयको तयारी छ ।