पोखरामा खुल्यो सिजी मोटोकर्पको अत्याधुनिक सर्भिस सेन्टर |
पोखरा । सुजुकी मोटर्सको आधिकारिक वितरक सिजी मोटोकर्पले पोखरामा ६ वर्किङ वे सहितको सर्भिस सेन्टर शुरु गरेको छ । पोखराका लागि डिलर बतास ब्रदर्सको स्टेट अफ द आर्ट सर्भिस सेन्टर शुरु भएको हो ।
यो सेन्टरको सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरी र बतासका प्रवन्ध निर्देशक शान्तराज बतासले संयुक्त रुपमा उद्घाटन गरे । सर्भिस सेन्टर १० हजार स्क्वायर फिटमा फैलिएको छ । मासिक हजार वटा गाडी सर्भिसिङ गर्ने क्षमता सेन्टरको रहेको कम्पनीले जानकारी दिएको छ ।
सुविधासम्पन्न तथा अत्याधुनिक मेसिन तथा औजारहरुले सुसज्जित यस सर्भिस सेन्टर बडि मेन्टिनेन्स शप, पार्ट शप तथा इन्जिन रिपियर एरिया गरी विभाजन गरिएको छ । कम्पनीका अनुसार सेन्टरमा सुजुकी डाइग्नोस्टिक टुल्स तथा कम्प्युटराइज्ड सिस्टमद्वारा गाडीको चेकजाँच गरिन्छ ।
सुजुकीको विश्वव्यापी मापदण्डलाई पूर्ण रुपमा पालना गरी गाडीको सर्भिसिङ गरिन्छ । ‘सर्भिस सेन्टरमा ग्राहकहरुको लागि सुसज्जित लाउन्जको व्यवस्था रहेको छ, जहाँ आरामसँग वसी ग्राहकले आफ्नो गाडी सर्भिसिङ भइरहेको अवलोकन गर्न सक्नेछन,’कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
“विक्री पछिको सेवा वास्तवमै महत्वपूर्ण हुन्छ किनभने यसले ग्राहकको भावना एवं मूल्यसँग प्रत्यक्ष सरोकार राख्छ । सर्भिस सेन्टरबाटै कुनै पनि ब्राण्डको छवि बन्ने र विग्रने गर्छ। हामीले आफ्ना ग्राहकहरुको मूल्य एवं मान्यतालाई मध्यनजर गरी अन्तरराष्ट्रिय सुजुकीको जुन मापदण्ड छ सोही अनुरुप सेवा प्रदान गर्छौ” बतासका प्रवन्ध निर्देशक शान्तराज बतासले भने ।
यो सेन्टरको शुभारम्भसँगै, गण्डकी तथा धौलागिरीमा मात्र ६ स्थानबाट सुजुकीको टच प्वाइन्टहरु सञ्चालनमा आएका छन् । गोर्खा, वालिङ्ग, वुर्तिवाङ, दुलेगौडा, बेनी तथा दमौलीमा सञ्चालित सर्भिस सेन्टरहरुबाट सुजुकीको सेवा पाउँदै आएको कम्पनीले जनाएको छ ।